‘प्रकाश’ र ‘राधा’लाई बिहिबार नै रिलिज गर्न बोर्ड अध्यक्ष केसीको आग्रह

‘प्रकाश’ र ‘राधा’लाई बिहिबार नै रिलिज गर्न बोर्ड अध्यक्ष केसीको आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘लाइगर’ नेपालमा समेत बिहीबार प्रदर्शन हुँदैछ । विदेशी सिनेमा बिहीबार नै रिलिज हुने भएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार रिलिज हुन लागेका सिनेमाका निर्मातालाई टेलिफोन गरेर बिहीबार नै गर्न आग्रह गरेका छन् ।

आगामी शुक्रबार रिलिज हुने ‘द सिक्रेट अफ राधा’का निर्माता तथा निर्देशक सुवर्ण थापा र ‘प्रकाश’का निर्देशक दिनेश राउतलाई फोन गरेर अध्यक्ष केसीले बिहीबार नै सिनेमा रिलिज गर्न आग्रह गरेका हुन् । यी दुई सिनेमालाई बिहिबार रिलिजका लागि सहयोग गर्न बोर्ड तयार रहेको बताएका थिए । तर अध्यक्ष केसीको आग्रहलाई दुवै सिनेमाका निर्माताले अस्वीकार गरेका छन् ।

यस विषयमा सिनेमा ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारीले आफुले शुक्रबार मात्रै सिनेमा रिलिज गर्ने बताए । ‘आग्रहको लागि बोर्ड अध्यक्ष केसीज्यूलाई धन्यवाद । तर हामी दर्शकलाई भ्रममा राख्न चाहँदैनौं र शुक्रबार नै सिनेमा प्रदर्शन हुन्छ,’ उनले भने, ‘हामी बुधबार प्रिमियर र बिहीबार लाइभ अन्तरक्रिया कार्यक्रमको तयारीमा छौं ।’

‘राधा’का निर्देशक थापाले पनि शुक्रबारको रिलिजबाट आफूहरु तलमाथि नहुने बताए । ‘बिहीबार भनेको अघिल्लो साता रिलिज भएका सिनेमाको समय हो । हामीले उनीहरुलाई उछिनेर अर्काको हक खोस्नु हुँदैन र एक दिनको व्यापारले पनि निर्मातालाई ठुलो राहत हुनेछ’ निर्देशक थापाले भने ।

नेपालमा विदेशी सिनेमा जुनसुकै समयमा रिलिज हुन पाउने, तर नेपाली सिनेमालाई शुक्रबार नै रिलिज गर्नु पर्ने बाध्यकारी नितिका कारण पनि बोर्ड अध्यक्ष केसीलाई रिलिजको सन्तुलन मिलाउन दबाब सिनेमाकर्मीको थियो । जसकारण उनले शुक्रबार रिलिज हुने २ नेपाली सिनेमाका निर्मातालाई बिहिबार नै आफ्नो सिनेमा रिलिज गर्न आग्रह गरेका हुन् ।