‘राधा’ नारीप्रधान भएका कारण ‘सेकेण्ड लिड’ गर्न राजी भएँ – खगेन्द्र लामिछाने

‘राधा’ नारीप्रधान भएका कारण ‘सेकेण्ड लिड’ गर्न राजी भएँ – खगेन्द्र लामिछाने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता खगेन्द्र लामिछानेले ‘राधा’ नारीप्रधान सिनेमा भएका कारण आफुले सहायक चरित्र गर्न राजी भएको बताएका छन् ।

मंगलबार एक मिडियामा बोल्ने क्रममा अभिनेत्रीको सपोर्टको लागि नारीप्रधानमा ‘सेकेण्ड लिड’ गर्न आफुलाई कुनै समस्या नरहेको बताए । सिनेमामा सृष्टि श्रेष्ठले शिर्ष भूमिका निर्वाह गरेकी छन् । उनकै चरित्र वरिपरि सिनेमाले फन्को लगाउछ ।

‘आजसम्म मैले लिड रोल मै सिनेमा गरेको छु । म निर्देशित ‘पानिफोटो’लाई छाड्ने हो भने यो मेरो पहिलो सिनेमा हो । जहाँ सेकेण्ड लिड गरेको छु । सधै भरि हामि हिरो हुने अनि हिरोइनको पछाडी कुद्ने मात्र होइन । जीवन सन्तुलन हुनु पर्छ । सेकेण्ड लिडपनि मैले खुसि साथ् अँगाले । यो सिनेमामा म हिरोइन, सृष्टि हिरो ।’ खगेन्द्रले मुस्कुराउदै भने ।

खगेन्द्रले कलाकारहरु सिनेमा मेकिङ आउनु यस क्षेत्रको लागि राम्रो कुरा रहेको बताए । ‘सौगात सिनेमा निर्माणमा आउँदा एकदमै खुसि लागेको थियो । दयाहाङ राई, विपिन कार्कीलगायतपनि निर्माणमा आउँनु पर्छ भन्ने लाग्छ । किनकि, कलाकार गैर-सिनेकर्मी होइन । उसले सिनेमा बनाउदा व्यापार भन्दापनि क्राफ्ट सोच्छ । उसलाई सिनेमा राम्रो बनाउनु छ । कलाकारलाई सिनेमा सम्बन्धि राम्रो ज्ञान हुने भएकाले निर्माणमा आउनु जरुरी छ ।’ खगेन्द्रले भने ।

सृष्टि श्रेष्ठले सिनेमामा राधाको भूमिका निर्वाह गरेकी छन् ।

साथै खगेन्द्रले ‘राधा’ एउटा राम्रो सिनेमा बनेको र दर्शकको मन जित्नेमा आशावादी देखिए ।

सुवर्ण थापाले निर्देशन गरेको ‘द सिक्रेट अफ: राधा’मा सृष्टि र खगेन्द्रसंगै मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा निर्देशक थापाको लेखन, कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

यो सिनेमालाई सौगात मल्ल, देवकी विष्ट र विक्रम दास जोशीले निर्माण गरेका हुन् ।

तस्विर: ज्ञानु राई