कम शोज दिएकोप्रति प्रदीपको आक्रोश, ‘प्रकाश’लाई सिध्याउने नियत देखियो

कम शोज दिएकोप्रति प्रदीपको आक्रोश, ‘प्रकाश’लाई सिध्याउने नियत देखियो

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौँ – आफु अभिनित सिनेमा ‘प्रकाश’लाई मल्टिप्लेक्सले कम शोज दिएपछि अभिनेता प्रदीप खड्काले आक्रोश व्यक्त गरेका छन् ।

मल्टिप्लेक्सले हिन्दि सिनेमा ‘लाइगर’लाई उल्लेख्य शोज दिएर ‘प्रकाश’लाई न्यून शो दिएपछि प्रदर्शनकर्मीहरुले नेपाली सिनेमालाई सिध्याउन लागिपरेको आरोप लगाए ।

‘म चिन्तित भएको छु । सिनेमाले हलमा मान्छे थेग्न नसकिने खालको प्रतिक्रिया पाएको छ । हल वालाको मानसिकता हेर्दा यो जस्तो झुर सिनेमा कहिलेपनि बनेकै थिएँन र यसलाई सार्वजनिक गर्नु भएको नेपाली सिनेमा क्षेत्रको लागि कलंक सावित हुन्छ भन्ने खालको देखिन्छ । प्रकाश एउटा विकृति हो । यो एउटा कलंक हो । यसलाई दबाउनु पर्छ भन्ने खालको हल संचालकहरुको चरित्र देखियो । ‘ प्रदीपले आक्रोशित हुँदै भने ।

प्रदीपले अगाडी थप्छन, ‘त्यो विदेशी सिनेमालाई हल संचालकले एकदमै माया गरेको देखियो । अकुपेन्सी आधारमा भने हामि नै अगाडी छौँ । विदेशी सिनेमासंग प्रतिस्पर्धा गर्न तयार छौँ । तर, सुरुवाती शो नै उनीहरुलाई १०० र हामीलाई १० दिंदा कसरी प्रतिस्पर्धा गर्ने ?’

‘विभेदको विषयमा सिनेमा बनाएका छौँ । तर, हाम्रै सिनेमाले विभेद सहनु परेको छ । अन्यायपनि कतिसम्म गर्न सकेका । प्रकाशले भन्दा बढी शो त मेरो पहिलो सिनेमा स्केपले पाएको थियो । के प्रकाश स्केप भन्दापनि झुर हो त ? प्रदीप प्रश्न गर्छन ।

प्रदीपको आक्रोशमा अभिनेत्री दीया मास्केले पनि सहमति जनाएकी छन् । उनि भन्छिन, ‘प्रदीपले भने जस्तै अन्याय भयो । जब हामीलाई दर्शक माझ पुग्ने ठाउँ नै दिइदैन भने हाम्रो कामको मुल्यांकन कसरी हुन्छ ? कुन टाइमको शो दियो । कति शो दियो भन्ने कुराले अर्थ राख्छ । दर्शकहरु शो नै भएन भएर गुनासो गरिरहनु भएको छ ।’ दीयाले भनिन् ।

प्रदीपले ‘प्रकाश’ जस्तो सिनेमालाई सपोर्ट नगरेकोमा सिनेकर्मीसंगपनि चित्त दुखाएका छन् । नेपाली सिनेमा हेर्न २५० रुपैयाँ खर्च गर्न सकिन्न भने भोलिदेखि २ करोड बजेटमा कसैलाई पनि सिनेमा नबनाउन सुझाव दिए ।

‘अगाडी आएर छाती मै गोलि थाप्न परेपनि पछाडी नहट्ने सिनेकर्मी छन् यहाँ । यो क्षेत्रमा ३ हजार बढी सिनेकर्मी होलान् । जस मध्येको ६ सयले प्रिमियरमा सिनेमा हेर्नु भयो । बाँकी २५ सय मान्छे कहाँ छन् । तपाईहरुले २५० रुपैयाँ नेपाली सिनेमामा खर्च गर्न सक्नु हुन्न भने भोलिदेखि २ करोडको सिनेमा नबनाएपनि हुन्छ । सिनेमा उद्योगको मान्छेलाई भन्छु, जो सिनेमा सम्बन्धि बिभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । तपाईहरुलाई सिनेमा हेरेर चित्त बुझेन भने टिकटको पैसा म फिर्ता गरिदिन्छु ।’ प्रदीपले संघ संस्थालाई सहयोग गरिदिन आग्रह गरे ।

दिनेश राउत निर्देशित सिनेमाले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । तर, मल्टिप्लेक्सले निक्कै न्यून शो दिएका छन् ।

हिन्दि सिनेमा ‘लाइगर’ले ६०-७० प्रतिशत शोज कब्जा गर्दा यो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका ‘प्रकाश’ र ‘राधा’ १०-१५ प्रतिशत शोमा खुम्चिएका छन् ।

महेन्द्र अधिकारीले निर्माण गरेको ‘प्रकाश’मा प्रदीप र दीयासंगै रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको पनि अभिनय छ ।

राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।

सिनेमाले एक विपन्न परिवारको युवकले शिक्षक बन्न गर्नु परेको संघर्षको कथा भन्छ ।

तस्विर: ज्ञानु राई