उत्कृष्ट कथा भएका कारण ‘राधा’मा लगानी गरेँ – सौगात मल्ल

उत्कृष्ट कथा भएका कारण ‘राधा’मा लगानी गरेँ – सौगात मल्ल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको पहिलो पाँच महिना भित्र अभिनेता सौगात मल्लका ४ सिनेमा सार्वजनिक प्रदर्शनमा आइसकेका छन् ।

‘मन्त्र’, ‘कबड्डी ४’, ‘घनचक्कर’ र ‘माइकल अधिकारी’ रिलिज भएका सिनेमा हुन् । भदौ १० मा रिलिज हुने सिनेमा ‘राधा’ सौगातको पाँचौं सिनेमा हो ।

अघिल्ला ४ सिनेमा भन्दा ‘राधा’ सौगातको लागि अझ विशेष छ । किनकि यो सिनेमामा सौगातले अभिनयसंगै लगानीपनि गरेका छन् । उनको यो डेब्यु लगानीसमेत हो ।

सर्वाधिक व्यस्त अभिनेताको रुपमा करिअर अगाडी बढिरहेको समयमा सौगातमा लगानीको सोच कसरी आयो त् ? के उनले व्यवसायका लागि लगानी गरेका हुन् ?

सौगातले यी प्रश्नको उत्तर दिएका छन् । उनि भन्छन, ‘हामीले आदियोगी भिजनको व्यानरमा केहि समय अगाडी राधा बनाउने सोच बनाएका थियौँ । अहिले चलिरहेका सिनेमाको ट्रेन्ड भन्दा बाहिर छ यो सिनेमा । यसको कथाबस्तु राम्रो छ । मलाईपनि व्यक्तिगत रुपमा एकदमै राम्रो लागेको सिनेमा हो । सुरुमा सृष्टि र म कलाकारको रुपमा मात्र छनोट भएका थियौँ । सुवर्ण थापा निर्देशकको रुपमा हुनु हुन्थ्यो ।’

कोरोनाको आगमनसंगै सिनेमाको लगानीकर्ताको मूड परिवर्तन भएको बताउछन सौगात । त्यसपछि सिनेमामा आफैले लगानी गर्ने बाटो खुलेको सौगातले प्रष्ट पारे ।

‘कोरोना आएपछि निर्माताले पछि सिनेमा बनाउने र तत्काललाई लगानी गर्न नसकिने बताउनु भयो । त्यसपछि हामीलाई यति राम्रो उत्कृष्ट कथामा ब्रेक लगाउन मन लागेन । यो अहिलेको लागि सान्दर्भिकपनि छ भन्ने खालका छलफल भए । सृष्टिको पितादेखि लिएर सबै जनाले मिलेर सिनेमा बनाउन हौसला दिनु भयो । त्यसपछि दुई चार जना मिलेर लगानी गर्ने निर्णयमा पुग्यौँ । पछि गएर आदियोगी भिजन, महारानी इन्टरटेनमेन्ट युके, मण्डला अनलाइन, अमी फिल्स्म, मुना प्रोडक्सन र बिरन्जना इन्टरटेनमेन्ट लगानीमा जोडिनु भयो । र सिनेमा निर्माणको प्रक्रिया अगाडी बढ्यो । सौगातले भने ।

सौगात ‘राधा’ व्यवसायिक भन्दापनि दर्शकलाई राम्रो कथा पस्किन निर्माण गरिएको सिनेमा बताउछन । सिनेमा एक व्यवसायिक पक्ष भएपनि ‘राधा’को पहिलो उद्येश्य कथा दर्शक माँझ पुर्याउनु रहेको बताए ।

सुवर्ण थापाले निर्देशन गरको सिनेमाले एक एकल गर्भवती महिलाको जीवनमा आउने उतारचढावको कथा भन्छ ।

सिनेमामा सृष्टि श्रेष्ठले शिर्ष भूमिका निर्वाह गरेकी छन् । सृष्टिसंगै सिनेमामा  खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा निर्देशक थापाको लेखन, कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

यो सिनेमालाई सौगात मल्ल, देवकी विष्ट र विक्रम दास जोशीले निर्माण गरेका हुन् ।

तस्विर: ज्ञानु राई