‘सम्हालिन्छ कहिले मन’ले सम्हाल्ला खस्किएको बजार ?

‘सम्हालिन्छ कहिले मन’ले सम्हाल्ला खस्किएको बजार ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीपछि बलिउड सिनेमाको व्यापार ओरालो गतीमा छ । ट्रेड एक्सपर्टकका अनुसार बलिउडले कोरोनापछि ३ हजार करोड भारु घाटा व्यहोरेको छ । यस वर्ष ठूला स्टारको सिनेमा प्रदर्शनमा आएसँगै अवस्था केही सुध्रने अनुमान लगाइएको थियो । तर, सलमान खानको राधे, कंगना रनावतको थलाइवी, अक्षयकुमारको बेल बटम र अमिताभ बच्चनको चेहरे फ्लप भए । भर्खरै प्रदर्शनमा आएको आमिर खानको ‘लालसिंह चड्डा’ र अक्षय कुमारको ‘रक्षाबन्धन’ले समिक्षकबाट ठिकठाक प्रतिक्रिया पाए, तर लगानी उठाउन पनि सकेनन् ।

बलिउडको व्यापारले नेपालमा विशेषगरी वितरक र हल सञ्चालकलाई असर गर्ने गरेको छ । किनकी, नेपालमा धेरैजसो हलहरुमा बलिउड सिनेमा चल्छन् । राम्रो लगानी गरेर ल्याएका यी सिनेमा लगातार फ्लप हुँदाको पीडा एकातर्फ छ, अर्कोतर्फ ‘कबड्डी ४’ पछि अर्को कुनै पनि नेपाली सिनेमाले राम्रो व्यापार गरेको छैन । तर, एउटा खुसीको खबर पनि छ ।

१७ भदौबाट ठूलो लगानीमा निर्माण भएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउँदैछ । यसको ९० प्रतिशतभन्दा धेरै सुटिङ बेलायतमा गरिएको छ । कबड्डीमा मुस्ताङका भीरपाखा नियालेका दर्शकले यसमा स्कटल्यान्डका भीर पाखा र लण्डन शहरका दृश्यहरु देख्न पाउनेछन् । ट्रेलर र सिनेमामा समावेश गीतहरुले राम्रै चर्चा पाइसकेका छन् ।

सामाजिक सञ्जालमा ‘जरुरी कुरा’, ‘हराएँ हराएँ’ छोटो समयमै लोकप्रिय भइसकेका छन् । दुई दशकअघिकै हिट गीत ‘सम्हालिन्छ कहिले मन’ को नयाँ भर्सनलाई पनि दर्शकले उत्तिकै मन पराएका छन् । सिनेमा नेपाली सिनेमा जगतलाई एक स्टेप माथि लैजाने उद्देश्य बोकेर निर्माण गरिएको निर्देशक सुदर्शन थापाले बताएका छन् । ‘सिनेमा भनेको निर्देशकले भिजुअल्ली देखेको एउटा आर्ट हो । त्यसलाई पूरा गर्नका लागि निर्माताले पैसा खर्च गर्नुपर्ने हुन्छ ।

हाम्रा निर्माताहरु यो सिनेमालाई चलनचल्तिका सिनेमाभन्दा एक स्टेपमाथि लैजानेमा स्पष्ट हुनुहुन्थ्यों, त्यसैले कुरा प्रतिफलको होइन, हामी कुन लेभलमा पुग्ने भन्ने हो ।,’ उनले भने,‘निर्देशकका रुपमा म कथासँगै सिनेमाको मेकिङ राम्रो हुनुपर्छ भन्ने मत राख्छु, यस सिनेमाको मेकिङ बलिउडका ए स्ट्यान्डर्डका हिट सिनेमा बराबर छ । बनाउन हामीले सक्दो मेहिनत गरेका छौं । कुनै कम्प्रमाइज छैन ।’

त्रिकोणात्मक प्रेमकथामा धेरै सिनेमा बनिसकेका छन्, यो सिनेमा किन हेर्ने ? जवाफमा निर्देशक थापा भन्छन्, ‘कुनै कन्टेन्ट कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला । त्यो व्यक्तिगत रोजाईको विषय हो । तर, हामीले अर्गानिक भन्दै शिक्षा दिने, उपदेश दिने सिनेमा बनाएपनि मेकिङ पार्टलाई बेवास्ता गर्दै आएका छौं, यो नै दर्शकले सबैभन्दा धेरै ख्याल गर्ने कुरा हो । त्रिकोणात्मक प्रेमकथा हुँदाहुँदै पनि यो मेकिङ र क्वालिटीवाईज यसको लेभल निकै हाई छ । यदी तपाईको उद्देश्य हलभित्र छिरेपछि तीनघण्टासम्म कुर्सीमा बसेर कम्प्लिट इन्टरटेनमेन्ट गर्ने हो भने सम्हालिन्छ कहिले मन हेर्दा त्यो इच्छा पूरा हुनेछ ।’

निर्माता अजितकुमार थापाले सम्हालिन्छ कहिले मनलाई ‘मेगा सिनेमा’ भन्न रुचाउँछन् । ‘जति पनि मेहिनत गरेका छौं । त्यो ट्रेलर र गीतमा देखिएको छ । अब १७ भदौमा सबै झल्कनेछ । यो सिनेमाका लागि हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौं । यो एउटा मेगा प्रोजेक्ट हो र यसले नेपाली सिनेमाको बजारलाई नै अन्तर्राष्ट्रियकरण गर्नेछ,’ उनले भने ।

अभिनेता आकाश श्रेष्ठले हलिउड र बलिउड सिनेमामा हेर्दै आएका ठाउँहरुमा गएर सुटिङ गर्न पाउनु आफ्नो टिमका लागि खुसीको कुरा भएको बताउँछन् । ‘लण्डन र दुबईका ती स्थान, जसलाई हामीले बलिउड र हलिउड सिनेमामा देखेका थियौं । त्यही स्थानमा गएर सुटिङ गर्न पाउनु भाग्यको कुरा हो, मैले आफूलाई निकै भाग्यमानी महसुस गरेँ,’ उनले भने ।

लण्डनमा दुई महिनाभन्दा लामो समय बस्दाको अनुभव निकै रमाइलो रहेको अभिनेत्री पुजा शर्माले बताइन् । ‘दुई महिनाभन्दा लामो समय विदेश बसेर सुटिङ गर्दाको अनुभव पनि रमाइलै रह्यो । स्कटल्यान्डको जाडोमा डिसेम्बर र जनवरीमा पातलो कपडा लगाएर सुट गर्न सजिलो थिएन । तर हामीले पर्दामा त्यो देखिन दिएका छैनौं । हाम्रा अफ्ठेरा पर्दामा देखिन्नन्, पर्दामा दर्शकले चाहेजस्तो अभिनय देखिनेछ,’ उनले भनिन्,‘ सिनेमामा शतप्रतिशत मेहिनत गरेको छु । विदेशमा खिचिएको सिनेमा भएकाले तपाईको आँखालाई पनि फ्रेस फिल गराउँछ । यसको कन्टेन्टले तपाई मनमा छुन्छ ।’

विदेशमा यसअघि पनि नेपाली सिनेमा सुटिङ नगरिएको होइन । ती सिनेमा र यसमा के फरक छ त ? जवाफमा निर्माता थापा भन्छन्, ‘यसका लागि हामीले बेलायत सरकारसँग अनुमति लिएका थियौं । सिनेमालाई ठूलो क्यान्भासमा उतार्नु थियो । त्यसका लागि सबै तयारी गरेका थियौं । हाम्रो ठूलो टिम नै गएर बेलायतमा दुई महिनाभन्दा लामो समय बसेको थियो ।’