प्रिमियरमा ‘राधा’लाई सकारात्मक प्रतिक्रिया, सृष्टिको अभिनयले जित्यो मन

प्रिमियरमा ‘राधा’लाई सकारात्मक प्रतिक्रिया, सृष्टिको अभिनयले जित्यो मन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘राधा’को राजधानीमा प्रिमियर सम्पन्न भएको छ ।

बिहिबार बेलुका सम्पन्न प्रिमियरमा सिनेमाका कलाकार, सेलिब्रिटी र पत्रकारहरुको सहभागिता रह्यो ।

सुवर्ण थापा निर्देशित सिनेमाले प्रिमियरपछि सकारात्मक प्रतिक्रिया बटुल्यो । आगन्तुकले मुख्य कलाकार सृष्टि श्रेष्ठको अभिनय र कथाबस्तुको तारिफ गरे ।

सृष्टिसंगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

देशसहित केही विदेशी मुलुकबाट प्रदर्शनमा आएको सिनेमालाई सौगात मल्ल, देवकी विष्ट र विक्रम दास जोशीले निर्माण गरेका हुन् ।

सिनेमाको बारेमा कसले के भने ?

दीया मास्के (अभिनेत्री)

गुरु भन्नुहुन्छ, हातमा राखेको परेवा जब उडेर जान्छ । तर, त्यसको स्पर्श हात मै हुन्छ । मलाई राधा त्यस्तै लाग्यो । त्यो स्पर्श म शब्दमा वर्णन गर्न सक्दिन । म सोचमग्न भएकी छु । राधा दिमागमा बसेकी छ ।

विनय श्रेष्ठ (अभिनेता)

मेरो लागि नेपाली सिनेमा क्षेत्रमा नयाँ हिरोको जन्म भएको छ । त्यो सृष्टि श्रेष्ठ हो । रोमियो एण्ड मूनामा संगै काम गर्दादेखि नै सृष्टिमा त्यो क्षमता देखेको थिएँ । अहिले उसले प्रमाणित गरिदिएको छ । म त्यति छिट्टै भावुक हुँदिन । तर, राधा पात्रसंग भावनात्मक रुपमा जोडिए । भावुकपनि बने । मौलिक कथाको बेग राम्रो छ । सबै कलाकारहरुले राम्रो काम गर्नु भएको छ । यो सबैले हेर्नै पर्ने सिनेमा हो ।

पूजा शर्मा (अभिनेत्री)

एकदमै राम्रो सिनेमा । २ घण्टा सृष्टि दिदिले मज्जाले होल्ड गर्नु भएको छ । सरल कथा, उत्कृष्ट प्रस्तूति छ । यो सिनेमा सृष्टि जी कै लागि भनेर लेखिएको हो जस्तो लाग्यो । राधा चरित्र सृष्टि दिदि बाहेक अरुले गर्नै सक्दैनन् । मलाई उहाँले निर्वाह गरेको चरित्रप्रति लोभ लाग्यो । सम्पूर्ण टिमलाई बधाई । दर्शकलाई राधा हेर्न नछुटाउनु भन्न चाहन्छु ।

सोनम तोप्देन (अभिनेता/गायक)

राधा हेरेपछि गर्व महशुस भएको छ । यो सिनेमाले अन्तराष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्छ । कलाकारहरुले निक्कै राम्रो काम गर्नु भएको छ । उहाँहरुको तारिफ गर्नलाई शब्द नै छैन ।

रेणु योगी (अभिनेत्री)

सिनेमा एकदमै राम्रो लाग्यो । सुन्दर कथा छ । थुप्रै सिनियर कलाकारहरुलाई एउटै स्क्रिनमा देख्न पाउँदा खुसि लाग्यो । सिनेमा यति राम्रो छ कि, मसंग वर्णन गर्नलाई शब्द नै छैन ।

आफ्नो कामको तारिफ भएपछी अभिनेत्री सृष्टि श्रेष्ठले खुसि व्यक्त गरिन् । ‘सबैको सकारात्मक प्रतिक्रियाले हौसला मिलेको छ । फाइनल फिल्म मैलेपनि हेरेको थिएँन । क्लाइमेक्सले मलाई सरप्राइज बनायो । मेरो निर्देशक सुवर्ण दाईलाई धेरै-धेरै धन्यवाद भन्छ चाहन्छु । जसले राधाको रुपमा मलाई देख्नु भयो । यो सिनेमाबाट धेरै कुरा सिक्न पाएँ ।’ सृष्टिले भावुक हुँदै भनिन् ।

निर्देशक सुवर्ण थापाले सिनेमाले हरेक नेपाली राधा (महिला)को कथा भन्ने बताए । ‘महिलाहरु कतिसम्म सहनशील हुन्छन भन्ने देखाएको छु । सुनलाई जति पिट्यो, त्यति नै राम्रो बन्दै जान्छ । राधा पात्रपनि त्यस्तै हो । जसलाई जीवनका उतारचढावले बलियो बनाउदै जान्छ ।’ निर्देशक थापाले भने ।

तस्विर: ज्ञानु राई