नेपाली सिनेमामाथिको आक्रमण एक जुट भएर प्रतिकार गरौँ – झरना थापा

नेपाली सिनेमामाथिको आक्रमण एक जुट भएर प्रतिकार गरौँ – झरना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली बक्सअफिसमा विदेशी सिनेमा दवदवा र नेपाली सिनेमाको जुधाईप्रति अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो धारणा व्यक्त गरेकी छन् ।

उनले फेसबुकमा एक स्टाटस लेख्दै नेपाली सिनेमा माथिको आक्रमणविरुद्ध सबै जना एक हुनु पर्ने बताएकी छन् ।

झरना लेख्छिन, ‘हिजो हामी ‘ए मेरो हजुर ४’लाई झम्टेको चितुवा (बिदेशी फिल्म)ले आज `प्रकाश´ र `राधा´लाई पनि बाँकी राखेन । त्यतिबेला हामीले त्यो `चितुवा´को एक्लै प्रतिकार गर्नु परेको थियो । आखिर यस्तो एकल लडाइँ कहिलेसम्म ? जसलाई पर्छ, ऊ मात्रै एक्लै चिच्याउनु पर्दाको आघात हामीले रामैसंग भोगेका छौ । त्यसमाथि हामी एक अर्का मै लड्ने गरेका छौं । `लालसिंह चड्डा´लाई एक्लै छोडिदियौं । अर्को हप्ता भने तीन-तीन वटा नेपाली फिल्म आपसमा भिड्यौं । एक-अर्काको अस्तित्व स्वीकार नगर्ने, अरुको पीडामा कहिल्यै नबोल्ने, आफुलाई पर्दा मात्रै हारगुहार गर्ने हाम्रो स्वार्थीपना आजकै दिनबाट निर्मुल गरेर नेपाली फिल्ममाथिको आक्रमणको प्रतिकारमा हामी सबै एक हुनुपर्छ । हिजो हामीलाई चिथोरेको चितुवाले आज गर्दन नै समातेको छ । यस्तै भैरहे, भोलि पूरै इन्ड्रस्टी नै निल्ने छ । चेतना भया । जय नेपाल/जय नेपाली चलचित्र ।’

शुक्रबारबाट रिलिजका भएका ‘प्रकाश’ र ‘राधा’लाई मल्टिप्लेक्सले न्यून शो दिएर विदेशी सिनेमा ‘लाइगर’लाई उल्लेख्य शो दिएपछि अभिनेता प्रदीप खड्काले आक्रोश व्यक्त गरेका थिए । हलवालाले नेपाली सिनेमालाई तल्लो स्तरको व्यवहार गरेको भन्दै प्रदीपले आफ्नो सिनेमा ‘प्रकाश’लाई प्रोजेक्टर लगाएर बाटोमा देखाउने अभिव्यक्ति दिएका थिए ।

अहिले ‘प्रकाश’ सिनेमाले कम शो पाउँदा प्रदीप एक्लै विरोधमा उत्रिएका छन् । उनलाई टिमको बाहेक अन्य सिनेकर्मी साथ छैन ।

केहि समय अगाडी निर्माता अर्जुन कुमार र निर्देशक झरना थापाले पनि प्रदीपको जस्तै समस्या झेल्नु परेको थियो । ‘चपली हाइट ३’लाई ‘पुष्पा’ले पेल्दा अर्जुन एक्लै बोलिरहे । ‘ए मेरो हजुर ४’लाई ‘केजीएफ’ले चपेटामा पार्दा झरनालाई साथ् दिने कोहि थिएनन् ।

‘प्रकाश’ ‘राधा’ले कम शो पाएको विषयमा झरनाले दिएको यो अभिव्यक्तिले सिनेमा क्षेत्रमा एक जुट हुनु पर्ने सकारात्मक संदेश प्रवाह गरेको छ ।