शनिबार ‘प्रकाश’ हाउसफूल, माउथ पब्लिसिटी अब्बल

शनिबार ‘प्रकाश’ हाउसफूल, माउथ पब्लिसिटी अब्बल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रकाश’ माउथ पब्लिसिटीमा अब्बल साबित भएकाले ‘प्रकाश’ शनिबार ब्यवसायिक रुपमा सुखद् सुरुवात गरेको छ ।

निर्माता महेन्द्र अधिकारीका अनुसार शनिबार राजधानीका अधिकांश मल्टीप्लेक्स शोहरु हाउसफूल भएका छन् भने बाँकी शोमा ८० प्रतिशत भन्दा माथीको अकुपेन्सी देखिएको छ । सिभिल मलमा रहेको क्यूएफएक्सका म्यानेजर शंकर नेपालले ‘प्रकाश’मा राम्रो दर्शक आएको बताएका छन् । सिनेमा हेरेका दर्शकले दिएको प्रतिक्रिया निकै अब्बल रहेको भन्दै उनले हलमा दर्शकको संख्या थप बढ्ने विश्वास लिए ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले ‘प्रकाश’ हेरेपछि आफ्ना साथीहरुलाई सिनेमा हेर्न सिफारिस गरिरहेका छन् । सिनेमाको हरेक पक्ष उत्कृष्ट रहेको भन्दै हेर्न धेरैले आग्रह गरिरहेका छन् । कर्णालीको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको सिनेमालाई विदेशमा सिनेमा हेरेका दर्शकले समेत रुचाएका छन् ।

अभिनेता प्रदिप खड्का र दिनेश राउतको कारण ‘प्रकाश’ले शुक्रबार भन्दा शनिबार राम्रो ब्यापार गरेको देखिन्छ । हलसञ्चालकले शुक्रबारको अकुपेन्सी र माउथ पब्लिसिटीका आधारमा शनिबारका लागि शोज बढाएका थिए । मल्टीप्लक्सले बढाएको शोलाई ‘प्रकाश’ले गजबसँग उपयोग गरेको छ ।

यसअघि ‘प्रसाद’ जस्तो सफल सिनेमा दिएका दिनेशलाई ‘प्रकाश’ अझ अब्बल बनाएको प्रतिक्रिया मिलेको छ । एउटा राम्रो निर्देशकको विश्वासमा पनि दर्शकहरु हलसम्म आउन थाले भन्ने कुरा यो सिनेमा हेरेका दर्शकले दिएको प्रतिक्रियाबाट बुझ्न सकिन्छ ।

अभिनेता प्रदिप खड्का त सिनेमाको मुख्य आकर्षण नै भए । शुक्रबार सिनेमा हेर्न नपाएको बताउँदै दर्शक शनिबार हलमा आएका थिए । उनीहरुले प्रदिपको अभिनयको मुक्त कण्ठले तारिफ गरेका छन् । सिनेमाले दर्शक, सिनेमाकर्मी र समिक्षक सबैबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकको प्रतिक्रिया अब्बल रहदा सिनेमाले आगामी दिनमा पनि उल्लेख्य व्यापार गर्न सक्ने देखिएको छ ।

महेन्द्र अधिकारीको निर्माण रहेको सिनेमाले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । विकास सुबेदीको लेखन रहेको सिनेमामा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।