‘प्रेमगीत ३’लाई बिकास बोर्डको सम्मान, सिनेमालाई साथ् दिन भुवनको अपिल

‘प्रेमगीत ३’लाई बिकास बोर्डको सम्मान, सिनेमालाई साथ् दिन भुवनको अपिल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज ७ मा देशसंगै भारतमा पनि रिलिज हुन् लागेको सिनेमा ‘प्रेमगीत ३’ युनिटलाई चलचित्र बिकास बोर्ड अध्यक्ष भुवनले केसीले सम्मान गरेका छन् ।

बोर्डको सम्मान थाप्न निर्देशक तथा निर्माता सन्तोष सेन, अभिनेताहरु शिव श्रेष्ठ, सुनिल थापा, प्रेम पुरी, मनिष राउत लगायत उपस्थित थिए । सिनेमाका शिर्ष कलाकार प्रदीप भने प्रदर्शनरत सिनेमा ‘प्रकाश’मा व्यस्त भएका कारण उपस्थित हुन् सकेनन् ।

नेपाली सिनेमाको बजार खोज्नमा सहयोग पुर्याए बापत भुवनले सिसाभित्र सजाइएको गौतम बुद्धको मुर्ति प्रदान गर्दै सम्मान गरेका थिए ।

सम्मान दिएपछि भुवनले राम्रो काम गर्नेलाई बिकास बोर्डले जहिलेपनि प्रोत्साहन गर्ने बताए । ‘नेपाल-इण्डो सिनेमा प्रेमगीत ३ असोज ७ गतेदेखि संसार भर प्रदर्शनमा आउदैछ । यो कुरा हामि सिनेकर्मीको लागि कुनै चाडपर्व भन्दा कम छैन । कुनै बेला नेपाली सिनेमाको उत्कृष्ट मेकिङको लागि मैले पनि बम्बैका गल्लिहरुमा चप्पल खियाएको थिएँ । अहिले सन्तोष जीले गर्नु भएको संघर्ष त्यो भन्दा चार गुणा धेरै भएको महशुस गरेको छु । जसरी प्रेमगीत ३ ले इतिहास रच्दै नेपाली सिनेमाको विश्वव्यापी बजार खोजिरहेको छ, यसमा हामि सबै नेपाली मिलेर साथ् दिनु पर्छ ।’ भुवनले सन्तोष सेन र टिमको प्रशंसा गर्दै सम्पूर्णमा सहयोगको लागि अपिल गरे ।

सम्मान कार्यक्रममा बोल्दै गर्दा निर्देशक एवं निर्माता सन्तोष सेन उत्साहित र केहि भावुक सुनिए । ‘लकडाउनको समयमा नेपाली सिनेमाको बजार खोज्ने सन्दर्भमा सुरु गरेको अभियानले अहिले आएर प्रेमगीत ३ विश्वव्यापी रिलिज गर्न पाउँदा हर्षित छौँ । सुरुवातमा हामीले स्याटेलाइट रिलिजको लागि मुम्बईसम्मको यात्रा गरेका थियौँ । भारतीय वितरकहरुसंगको छलफल र सिनेमा हेरिसकेपछि यसलाई थियटर मै रिलिज गर्ने योजना बन्यो । उहाँहरुलाई सिनेमाको कन्टेन्ट र लोकेशनले तान्न सफल भयो । हाम्रो देशको लोकेशन देखेर उहाँहरु सिनेमा रिलिज गर्न अग्रसर हुनु भयो । तर, नेपाली केहि सिने पण्डितहरुले भने भारतमा सिनेमा रिलिज गरेर के हुन्छ भन्ने खालका टिप्पणीहरु गर्नु भएको थियो । त्यैपनि हामि हाम्रो योजनाबाट एक कदमपनि पछाडी हटेनौं ।’ सन्तोषले रिलिजबारे गरिएको संघर्षको बारेमा भने ।

सन्तोषले सिनेमा चल्ने नचल्ने दोस्रो कुरा भएको बताए । ‘पहिलो कुरा त हामीले त्यति ठुलो मार्केटमा सिनेमाको स्थानको खोज्नु नै ठुलो कुरा हो । भोलि ओटीटीमा पनि दर्शकले नेपाली सिनेमा हेर्न पाउनु हुनेछ । कतिले त नेपाली भाषा मै रिलिज गर्नु पर्थ्यो भन्ने सुझावपनि दिनु भयो । तर हामीले त्यहाँको दर्शक सामु नेपाली सिनेमा पुर्याउन खोजेका हौँ । बजार बिस्तार गर्न खोजेका हौँ । आजको दिनसम्म मिहेनत गरेकाले नेपाली सिनेमाले एक कदम भएपनि पाइला चालेको छ । यस अभियानमा सबै नेपालीहरुले साथ् दिनु हुन्छ भन्ने आशा गरेको छु ।’ सेनले भने ।

सन्तोष र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सहनिर्माण छ ।

तस्विर: सुरेन्द्र थापा