द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा ‘पेन्सन पट्टा’को अहिले धमाधम विदेश प्रदर्शन अधिकार बिक्री भैरहेको छ । गत हप्ता बेलायत र हङकङ राइट्स बेचेको निर्माण टिमले हिजो आइतबार अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन अधिकार बिक्री गरेको हो ।
निर्देशक समेत रहेका अभिनेता माओत्से गुरुङले सिनेमाको अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शन अधिकार द ब्याकअप ईभन्ट्सले खरिद गरेको हो । कुनैपनि प्रचार सामाग्री सार्वजनिक नहुँदै धमाधम विदेश प्रदर्शन अधिकार बिक्री हुँदा सिनेमालाई लिएर दर्शकमाझ उत्साह पैदा भएको छ । निर्माण टिमले यसलाई निर्देशक माओत्से गुरुङको मेहनतको प्रतिफलको रुपमा बुझेको छ ।
आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुने सिनेमा ‘पेन्सन पट्टा’ले सुखद् व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ । सिनेमामा गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित निर्देशक माओत्स गुरुङको पनि लगानी रहेको छ । उनी सिनेमाका लेखक तथा निर्देशक समेत हुन् ।
सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ । विश्वास र मायाले यो सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । यो सिनेमा नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् ।
मीन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिले छायांकन गरेको सिनेमाका कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापा मगर, शिव बराइली, सुरुङ गुरुङ छन् ।
केर डि. कोइच लिनुचले सम्पादन गरिरहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।


प्रतिक्रिया