द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री गौमाया गुरुङ नेपाल-अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा सहभागी हुने भएकी छिन् । अमेरिकाको मेरिल्याण्डमा जुन २५ देखि २८ सम्म आयोजना हुने महोत्सवमा उनी सहभागी हुन लागेकी हुन् । यो महोत्सवमा उनको मुख्य भूमिका रहेको ‘सेप अफ मोमो’ (छोराजस्तै) उद्घाटन सिनेमाका रुपमा प्रदर्शन हुँदैछ ।
नेपाल-अमेरिका महोत्सवमा कलाकारको रुपमा सहभागी हुन पाउँदा आफू उत्साहित भएको अभिनेत्री गुरुङले बताइन् । डायस्पोरा दर्शक तथा सिनेमाकर्मीसँग भेटघाट तथा अनुभव आदानप्रदान गर्न आतुर रहेको उनी बताउँछिन् । ‘सिनेमाले सुरुदेखि नै पाएको उत्साह र सकारात्मक प्रतिक्रियाप्रति म कृतज्ञ छु । हाम्रो लागि यो महोत्सवमा उद्घाटन सिनेमाको रुपमा ‘सेप अफ मोमो’ छनोट हुनु विषेश छ’, उनले भनिन् ।
यो महोत्सवले नेपाली डायस्पोराका कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउन तथा विभिन्न संस्कृतिबीच आदानप्रदानको सेतु निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । महोत्सव आयोजक टिमप्रति आभार व्यक्त गर्दै अभिनेत्री गुरुङले यो अवसरले अन्तरसांस्कृतिक कथा-वाचनलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन् । ‘यस्ता महोत्सव नेपाली कला, संस्कृति र कथालाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने महत्वपूर्ण प्लेटफर्म पनि हुन् । डायस्पोराको कथामा अझ धेरै काम होस् । हाम्रो क्रियटिभ नेटवर्क अझ बलियो बनोस् भन्ने अपेक्षा गर्छु’, उनले थपिन ।
गौमायासहित पशुपति राई, जानकी कठायतलगायतको अभिनय रहेको सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शन भइरहेको छ । त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ले प्रदर्शनपछि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले अभिनेत्री गौमायाको अभिनयलाई समेत प्रशंसा गरिरहेका छन् । सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा बनाइएको सिनेमाले एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत, संघर्ष र पहिचानको कथा प्रस्तुत गर्छ ।
यो सिनेमाले बुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा अवार्ड पाएको थियो । सन् सेबेस्टियन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवलगायत प्रतिष्ठित महोत्सवहरुमा समेत प्रदर्शन भइसकेको छ । गौमायाले ‘कबड्डी ४’, ‘फूलबारी’, ‘राजागञ्ज’, ‘महाजात्रा’लगायतका सिनेमामा अभिनय गरिसकेकी छन् ।
गौमाया नेपाली सिनेमाकी स्थापित अभिनेत्री हुन् । उनी सन् २०२४ मा विश्व प्रतिष्ठित बर्लिन सिनेमा महोत्सवअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’को एक्टर विधामा छनोट भएकी थिइन् । १३१ देशभरबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीमध्ये नेपालबाट छनोट हुने उनी एकमात्र कलाकार थिइन् । ‘बर्लिनाले ट्यालेन्ट’मा सहभागितापछि उनले विश्व सिनेमाका चर्चित सिनेमामेकर र कलाकारहरुसँग अभिनयसम्बन्धी प्रशिक्षण लिएकी थिइन् ।


प्रतिक्रिया