के हो ‘झिँगेदाउ’ भनेको ? निर्देशक देउजाले खुलाए अर्थ

के हो ‘झिँगेदाउ’ भनेको ? निर्देशक देउजाले खुलाए अर्थ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘झिँगेदाउ’ चर्चामा छ । सिनेमाको संगीतले चर्चा पाइरहेका छन् । भने दर्शकले ट्रेलरपनि रुचाएका छन् ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको सिनेमाको लेखन प्रदीप भारद्वाजले गरेका हुन् । भीमनिधि तिवारीको कृतिमा आधारित ‘झिँगेदाउ’मा आधारित सिनेमामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका छ ।

सिनेमाले दुई दाजु-भाई र देउरानी-जेठानीको झमेलाको कथा भन्छ । मौलिक लाग्ने सिनेमाका प्रचार सामाग्रीसंग दर्शकले साक्षात्कार गरेपनि कतिलाई सिनेमाको शिर्षकको अर्थ थाहा नहुन सक्छ ।

त्यसैले निर्देशक देउजाले शिर्षकको अर्थ खुलाएका छन् । उनका अनुसार ‘झिँगेदाउ’ एउटा खेल हो । जो कुनै समयमा खेल्ने गरिन्थ्यो । खेल खेल्न चाहनेहरु सिक्का लिएर जम्मा हुन्थ्ये । अनि सिक्कामा गुलियो कुरा चिप्काएर दाउमा राखिन्थ्यो । झिँगा जसको सिक्कामा बस्थ्यो । उसैले बाजी मार्थ्यो ।

उनले सिनेमामा खेल पश्चात एउटा परिवारमा आउने परिवर्तन वा आपसी समस्यालाई चित्रण गरिएको बताए । ‘खेलले दुई सदस्य र परिवारमा पार्ने प्रभावलाई सिनेमामा देखाउने प्रयाश गरेको छु । यो सिनेमाले एकै परिवारमा भएका सदस्यहरुलाई समेत आपसी सद्भाव बढाउन प्रेरित गर्छ’ निर्देशक देउजाले भने ।

सिनेमाको कथा अहिलेको समय सापेक्ष रहेको उनको भनाइ छ । परिवार र त्यसमा आउने समस्यालाई फिल्मी शैलीमा उनले ‘झिँगेदाउ’मा प्रस्तुत गरेका छन् । उनी यस कथालाई एभरग्रीन भन्छन् । किनकी उनले तीन दशक अगाडी सोचेको कथालाई अहिले पर्दामा ल्याउदै छन् । ‘यसको कथा रोचक छ नै । साथै सिनेमा भनेको दृश्य भाषा हो । त्यसमा मेहनत गरिएको छ’ उनले भने ।

सिनेमामा केकी र आँचलले देउरानी-जेठानीको भूमिका निर्वाह गरेका छन् । यस्तै मुकुन र डेब्यु कलाकार कुशल दाजु-भाईको भूमिकामा छन् । सिनेमामा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको पनि अभिनय छ ।

कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित)को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ । सिनेमा भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।