नेपाली मेकरले कन्टेन्ट खोज्न लाग्दा मेकिङमा चुक्न थाल्यौं – सुदर्शन थापा

नेपाली मेकरले कन्टेन्ट खोज्न लाग्दा मेकिङमा चुक्न थाल्यौं – सुदर्शन थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लण्डनमा एबी इन्टरनेशनलले सिनेमा ‘पासवर्ड’को छायांकन गरिरहेको थियो । प्रोडक्सनको तर्फबाट अमित बस्नेत र अजित कुमार थापा लगानीकर्ता थिए ।

नेपाली सिनेमा निर्माणमा अग्रणी भएर लागिपरेको एबी इन्टरनेशनलबाट अन्य सिनेमा निर्माण गर्न चाहन्थ्ये अमित र अजित । दुवै जना लभस्टोरी सिनेमाको लागि राम्रो निर्देशकको खोजिमा थिए । छायांकनको क्रममा भएका छलफलमा थुप्रै निर्देशकको नाम अगाडी आयो । अन्तिममा सुदर्शन थापासंग कुरा गर्ने सहमति जुट्यो ।

छायांकन चल्दै गर्दा अजित र अमितले सुदर्शनको नम्बरमा फोन लगाए । एक चरण कुरा फोनबाटै भयो । ‘पासवर्ड’को छायांकन सकिएपछि अजित र अमित नेपाल आए । सुदर्शनसंगको भेट जुर्यो ।

‘छायांकनको क्रममा को निर्देशकलाई लिएर सिनेमा बनाउदा राम्रो होला भन्ने छलफलमा सबै जनाले सुदर्शनलाई लिंदा राम्रो हुन्छ भन्नु भयो । त्यसपछि हामि तपाई कहाँ आइपुगेका हौँ ।’ अजित र अमितले भेटमा सुनाएको कुरा सुदर्शनले स्मरण गरे ।

‘उहाँहरुले एउटा राम्रो सिनेमा बनाउने र लण्डनमा छायांकन गर्ने योजना सुनाउनु भयो ।’ सुदर्शनले भने ‘अधिकांस सिनेमा लण्डनमा केहि प्रतिशत नेपालमा छायांकन गर्ने सहमति जुट्यो ।’

सहमति त जुट्यो तर सुदर्शनको मनमा एउटै कुराको डर थियो । कतै विदेशको छायांकन लुकेर गर्नु पर्ने त होइन ? सुदर्शनलाई लुकेर खिच्नै मन थिएन । ‘मैले त्यसअघि पनि थुप्रै सिनेमा देखेको थिएँ । जो अनुमति बिना विदेशमा खिचिएका थिएँ । ति सिनेमाहरुको फ्रेम हेर्दा मलाई त्यस्तो महशुस हुन्थ्यो । त्यस्ता सिनेमामा कलाकारहरुपनि असहज देखिन्थ्ये । लुकेर खिचेका सिनेमामा निर्देशकको ‘प्वाइट अफ भ्यू’ नै गायब हुन्थ्यो । त्यसैले विदेशमा राम्रो सिनेमा खिच्न अनुमति लिनु पर्ने कुरा आवश्यकता महशुस गरेको थिएँ ।’ सुदर्शनले भने ।

लुकेर नखिच्ने भन्ने सुदर्शनको प्रस्तावलाई निर्माताहरुले सहज रुपमा स्वीकारे । ‘अनुमतिको लागि चिन्ता लिनु पर्दैन । हामी अनुमति लिएरै सिनेमा खिच्नेछौँ ।’ निर्माताले प्रस्ताव स्वीकार गरेपछि सिनेमा निर्माणको काम अगाडी बढ्यो ।

त्यसपछि निर्माण पक्ष र सुदर्शन बीच कथाबस्तुको बारेमा छलफल भयो । निर्देशक थापासंग एउटा लभस्टोरी सिनेमाको कन्सेप्ट थियो । थापाले उक्त कन्सेप्ट सुनाए । निर्माताहरुपनि उक्त कन्सेप्टमा सिनेमा बनाउन तयार भए । ‘मेरो कन्सेप्ट अलि प्यानिक थियो । त्यसैले उक्त कथालाई न्याय गर्न सक्ने संगीतको खोजि भयो । मैले युवा अवस्थादेखि सुन्ने र मनमा बस्न सफल गीत सम्हालिन्छ कहिले मनले उक्त कथालाई न्याय गर्छ भन्ने लाग्यो । हाम्रो टिमको छलफलपछि सर्जकसंग कपिराइट लिएर सिनेमा अगाडी बढाउने निष्कर्षमा पुगियो । हामीले सिनेमाको शिर्षकपनि त्यहि गीतबाट राख्ने निधो गर्यों ।’ थापाले बेलिबिस्तार लगाए ।

कलाकार छनोटको काम अगाडी बढ्यो । छायांकन घोषणा गर्यौँ । ‘नेपालबाट २५ जना भन्दा बढीको टिम युके तिर लाग्यौँ । लाइट्सम्यानहरु भारतबाट लिएका थियौँ । हामीले नेपालमा जस्तै उचित टिम लिएर छायांकनमा निस्केका थियौँ । लकडाउन अगाडी नै खिचेको सिनेमा हो । तर, केहि प्रतिशत बाँकी रहेको दृश्य चाहि दुबई र उपल्लो मुस्ताङ खिचेका थियौँ ।’ सुदर्शनले भने ।

निर्देशक थापा ‘सम्हालिन्छ कहिले मन’ टेक्निकल्ली मजबुत सिनेमा भन्न रुचाउछन । सिनेमामा एक किसिमको राम्रो मेकिङ दर्शकले हेर्न पाउने उनले बताए ।

‘मेरो सुरुवाती सिनेमादेखि नै मैले क्वालिटीमा सम्झौता गरेको छैन । यो सिनेमा ति सिनेमा भन्दा झनै माथि छ । यसमा कुनैपनि किसिमको सम्झौता छैन । दर्शकले राम्रो क्वालिटीको सिनेमा हेर्न पाउनु हुनेछ । लण्डनमा बस्ने नेपालीहरुको कथा हो । हामीले त्यहाँ बस्ने नेपाली नागरिकहरुको अवस्थाको बारेमा अनुसन्धानपनि गरेका थियौँ ।’

सुदर्शनलाई नेपाली सिनेमा मेकिङमा चुकिरहेको जस्तो लाग्छ । यस सन्दर्भमा थापा भन्छन, ‘१४-१५ अगाडीपनि नेपाली सिनेमाको कथा खिच्ने गरिन्थ्यो । त्यतिबेला दर्शक सिनेमाको मेकिङ मै गुनासो गर्थ्ये । जतिबेला मैले ‘मेरो एउटा साथि छ’ बनाए । मैले त्यतिबेला नै भनेको थिएँ । हामि एउटा कोरियन सिनेमाको कथा एडप्ट गरिरहेका छौँ । त्यसमा मलाई कुनै लाज, अप्ठेरो छैन । तर हामि त्यस सिनेमाबाट नेपाली सिनेमाको मेकिङ चाहि देखाउछौँ भनेका थियौँ । त्यो सिनेमा रिलिज भएपछी नेपाली मेकरहरुले मेकिङमा पनि ध्यान दिन थाल्नु भयो ।’

सुदर्शन अगाडी थप्छन, ‘अहिले त्यो समयदेखि १२-१३ वर्ष अगाडी आउँदा फेरिपनि हामि मेकिङ मै चुकिरहेका छौँ । हामीले सिनेमालाई कन्टेन्ट, अर्ग्यानिक, नेपालीपन, आर्ट रुपमा विभाजन गरिरहेका छौँ । मेरो बिचारमा सिनेमा दुई किसिमका हुन्छन । एउटा राम्रो अर्को नराम्रो । अनि मेरा चलेका सिनेमालाई राम्रो भन्छु । नचलेका नराम्रा । मिहेनत त उत्तिकै गरेको हो । हामि कन्टेन्ट खोज्ने क्रममा मेकिङलाई बिर्सिन थाल्यौँ ।’

सुदर्शनको बुझाइमा सिनेमा मनोरंजन हो । र ‘सम्हालिन्छ कहिले मन’ मनोरंजन प्याकेज हो । ‘पछिल्लो समय नेपाली सिनेमा चल्न छाडेका छन् । यो सिनेमामा कुनै अर्ति उपदेश र शिक्षा छैन । मात्र मनोरंजन पाउनु हुनेछ । यो क्षेत्र नै मनोरंजनको हो । यो सिनेमा हेर्नलाई कतै पढेर आउनु पर्दैन । फिल्म लिट्रेशी हुन् आवश्यक छैन । सरल र सहज रुपमा सबैले बुझ्ने सिनेमा बनेको छ । सिनेमा हेरिदिनुस । मनमा लागेका प्रतिक्रिया दिनुस । म तपाईहरुसंग कमेन्टमा झगडा गर्दिन । प्रतिक्रिया चित्त बुझेन भनेर स्टाटस लेख्दिन ।’ सुदर्शनले दर्शकलाई सिनेमा हर्न अपिल गरे ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । सिनेमा भदौ १७ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

तस्विर: ज्ञानु राई