काठमाडौंमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को बिशेष शो सम्पन्न

काठमाडौंमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को बिशेष शो सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भिक्टोरिया क्रस कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको सिनेमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को काठमाडौंमा बिशेष शो सम्पन्न भएको छ । शनिवार आयोजित शोमा कुलवीर थापाका छोरा, बुहारी तथा नातीसहित परिवार उपस्थित थिए । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकार समिर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए ।

भदौ २४ गते प्रदर्शनमा आउने सिनेमामा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाईते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए ।

तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई सिनेमामा प्रस्तुत गरिएको छ ।

बिशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैले भन्ने कोशिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खालाई श्रद्दाञ्जली दिन सिनेमा निर्माण गरेको बताए । साथै, थापाको जन्मस्थान सहित अन्य तथ्य दस्तावेजमा गलत उल्लेख रहेको बताउँदै सिनेमा निर्माणको शिलशिलामा त्यस्ता दस्तावेजमा समेत सहि तथ्य राख्ने प्रयास गरेको उनले बताए ।

सिनेमामा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । सिनेमाको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर सिनेमा बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । सिनेमामा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।

नेपाल प्रदर्शनभन्दा अगाडि सिनेमाको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो । नेपालमा सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।