‘लालीबजार’ सुपरहिट भएपछि सार्वजनिक गरियो ‘मैँ राम्री छु त नि मेरो केको दोष’ गीत

‘लालीबजार’ सुपरहिट भएपछि सार्वजनिक गरियो ‘मैँ राम्री छु त नि मेरो केको दोष’ गीत

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यो वर्षको पहिलो सुपरहिट सिनेमा ‘लालीबजार’ हाल छैटौं हप्तामा प्रदर्शनरत छ । अहिलेसम्म सिनेमाले बक्सअफिसमा ९ करोडको आँकडा पार गरिसकेको छ । अझै पनि काठमाडौंसहित विभिन्न सहरका हलहरूमा दर्शकको चाप सुखद रहेकाले सिनेमाले आगामी सातासम्म १० करोडको व्यापार गर्ने निश्चित देखिन्छ ।

व्यावसायिक सफलता हासिल गरेसँगै शुक्रबार निर्माण पक्षले सिनेमामा समावेश ‘मैँ राम्री छु त नि मेरो केको दोष’ गीतको पूरा अंश दर्शकमाझ ल्याएको छ । सिनेमा प्रदर्शन हुनुअघि यो गीतको सानो अंश युट्युबमा सार्वजनिक गरिएको थियो, जसमा हजारौं टिकटक, रिल्स, र शर्टस् बनिसकेका छन् । यसको पूरा अंश भने दर्शकले सिनेमामा मात्र हेर्न पाएका थिए ।

प्रकाश सपूतको शब्द तथा संगीत रहेको गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, विन्दू बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । यो गीतमा महिलाको सुन्दरताको वर्णन गरिएको छ । महिलालाई मुर्तिकारले कुँदेको सुन्दर मुर्तिसँग तुलना गर्दै राम्री हुनु केको दोष भन्दै गीतले प्रश्न गरेको छ ।

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द कुमार श्रेष्ठ, जानकी कडायत, आशा पौडेल, तारा शर्मालगायतका कलाकारहरू देखिएका छन् । सिनेमामा राजा साबको भूमिकामा रहेका रवीन्द्रलाई खुसी पार्न स्वस्तिमासहितका महिलाले नृत्य प्रस्तुत गरिरहेको भिडियोमा देखिन्छ ।

यम थापाको निर्देशनमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थीलगायतको अभिनय रहेको छ । यो सिनेमामार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यू गरेका हुन् ।

षट्कोण आर्ट्‌सको व्यानरमा निर्माण भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा प्रदीप भट्टराई अनि निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन् ।

सिनेमामा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक रोहित शाक्य र शैलेश श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ ।