‘बाबरी’मा ‘सानो राजासाहेब’को भुमिका चुनौतीपूर्ण थियो : धिरज मगर

‘बाबरी’मा ‘सानो राजासाहेब’को भुमिका चुनौतीपूर्ण थियो : धिरज मगर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता धिरज मगर ४ वर्षपछि सिनेमा ‘बाबरी’बाट दर्शकमाझ आउँदैछन् । आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमालाई धिरजको स्टारडमले इनिसियल व्यापारमा फाइदा पुग्ने विश्लेषण सिनेमाकर्मीले गरिरहेका छन् । तर, धिरजलाई न स्टारडममा कुनै विश्वास छ न आफु स्टारडम कलाकार हो भन्ने नै लाग्छ ।

आइतवार राजधानीको एक रेस्टुरेन्टमा पत्रकारसँग भेटघाटको क्रममा धिरजले भने, ‘मसँग सिनेमाको राम्रो ओपनिङ गर्ने खालको स्टारडम छ भन्ने नै लाग्दैन । मलाई व्यक्तिगत रुपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो सिनेमा हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारको रुपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु ।’ सिनेमा चल्नका लागि सिनेमा आफैंमा राम्रो हुनुपर्ने धिरज बताउँछन् ।

‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाबरी’मा धिरजले निर्वाह गरेको क्यारेक्टरमा धेरै फरक छ । ‘बाबरी’मा उनले निभाएको क्यारेक्टरले त दर्शकलाई सरप्राइज नै बनाएको छ । सिनेमामा उनले गाउँको साने राजासाहेबको भूमिका निभाएका छन्, जसको गेटअप र बोल्ने शैली पृथक छ । यूकेमा हुर्केका धिरजलाई सानोे राजाको चरित्रमा आफूलाई दुरुस्त उतार्न एकदमै चुनौतीपूर्ण रहेको स्मरण गरे ।

धिरज भन्छन्, ‘सिनेमामा मेरो क्यारेक्टर मभन्दा विल्कुलै फरक छ । म यूकेमा हुर्केकाले गाउँको सानो राजासाहेबको क्यारेक्टर गर्नु भनेको एकदमै चुनौतीपूर्ण थियो । यद्यपि, कलाकारको रुपमा मैले आफूले आफूलाई एक्सप्लोर गर्न पाएँ र त्यो क्यारेक्टरलाई न्याय गर्न सकेँ भन्ने लाग्छ ।’

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमामा धिरजको अपोजिटमा अभिनेत्री अदिती बुढाथोकी छिन् । सिनेमामा धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलले सम्पादन गरेका हुन् ।