नेपालका सुन्दर दृश्य समावेश बलिउड सिनेमा ‘उचाई’को ट्रेलर रिलिज

नेपालका सुन्दर दृश्य समावेश बलिउड सिनेमा ‘उचाई’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा छायांकन गरिएको बलिउड सिनेमा ‘उचाई’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार निर्माण कम्पनी राजश्रीको यूट्युब च्यानलबाट सार्वजनिक भएको २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलरले मित्रताको कथा भन्छ ।

बलिउड अभिनेता अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीको मित्रताको वरिपरि सिनेमा घुमेको ट्रेलरमा देखाइएको छ । आफ्नो जन्मदिनमा डेनीले संसारकै अग्लो शिखर सगरमाथा घुम्न जाने प्रस्ताव साथीहरुलाई राख्छन् । तर, पाको उमेरका कारण साथीहरु सगरमाथा जान तयार हुँदैनन् । तर, अचानक डेनीको निधन भएपछि उनको अधुरो सपना साकार गर्न अमिताभ, अनुपम खेर र बोमन सगरमाथा यात्रामा निस्कन्छन् ।

सगरमाथा यात्राको क्रममा आउने आरोह-अवरोहलाई नै ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नेपालका सेताम्मे हिमालसँगै सगरमाथालाई पनि लोभलाग्दो रुपमा देखाइएको छ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्न सक्ने देखिन्छ । अगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उचाई’को २०७८ सालको कात्तिकमा नेपालमा छायांकन गरिएको थियो ।

नेपालमा सिनेमाको छायांकनका लागि २० करोड खर्च भएको थियो । सूरज बडजात्याद्वारा निर्देशित सिनेमामा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ ।