दर्शकको नाडी छामेर आएको सिनेमा ‘के घर के डेरा’

दर्शकको नाडी छामेर आएको सिनेमा ‘के घर के डेरा’

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौँमा ठूलो बंगला, राम्री श्रीमती वा गर्ल फ्रेण्ड, सानो सुखी परिवार र समाजमा इज्जत, कसको पो रहर हुँदैन र ? त्यसैले त यसकै पछाडि दौडिएको छ अहिलेको समाज । तर यो त्यति सजिलै कहाँ पाइन्छ र ? पाइँदैन । त्यसमा पनि काठमाडौंमा ? असम्भव नै त होइन । तर, सहज पनि छैन । तपाईंलाई विश्वास लाग्दैन । त्यसो भए हेर्न जानुस्, अहिले हलमा चलिरहेको सिनेमा ‘के घर के डेरा’ हेर्न ।

‘के घर के डेरा’ले के भन्छ ? यो सिनेमाले काठमाडौंमा चाख बसेका र त्यसमा बानी लागेका आम नेपाली युवाको काठमाडौं मोहको कुरा गर्छ । बाक्लो सहरभित्र टाउको लुकाउने ठाउँ पाउन मुस्किल रहेको विद्यमान समाजको कथा भन्छ । यो यथार्थको भुक्तभोगी आजित व्यक्तिले आफ्नै घरको सपना पूरा गर्न गर्ने लप्पन छप्पनको कथा देखाउँछ ।

यति मात्रै पनि होइन । आलिसान घर र सुखी परिवारको लोभमा जोडिन आउने सम्बन्ध र त्यसको अभाव र यथार्थको पहिचानसँगै सम्बन्धमा आउने दरार देखाउँछ । सम्बन्ध टिकाइरहन अहिलेको पुस्ताले गरिरहेको लोभ वा जालझेल पनि यो सिनेमाले भन्ने चोटिलो कथा हो । दीपेन्द्र के खनालले पात्रको पीडा देखाएर दर्शकलाई हसाउँदै कथा भन्छन् । पात्रलाई काठमाडौँका गल्लीगल्ली घुमाउँदै दर्शकलाई हसाइँरहन्छन् ।

सपना देख्न सजिलो छ, तर भेट्टाउन कठिन । कल्पना गर्न सजिलो छ, तर पूरा गर्न गाह्रो । बाचा गर्न सहज छ तर पूरा गर्न हम्मे । झुक्याउन सजिलो छ तर त्यसलाई सधैँ लुकाउन कठिन । यो जान्दा जान्दै पनि कसरी यसकै पेरिफेरीमा अहिलेको समाज कुमालेको चक्र झैँ घुमिरहेको छ ? दीपेन्द्रले आफ्नो सिनेमामा भन्छन् ।

यही कथाको उकालो र ओरालो देखाउन के घर के डेरा बन्यो । र शुक्रबारबाट रिलिज भयो । उकालोमा दर्शक हाँस्छन् । ओरालोमा मौन हुँन्छन् ।

दर्शकले अहिले कमेडी सिनेमा मन पराइरहेका छन् । दर्शकको नाडी छामेर त्यही जनराभित्र बाँधिएर दीपेन्द्रले काठमाडौँका युवाको उच्च आकांक्षा र त्यसले सिर्जना गरिरहेको वास्तविक कथा भनेका छन् ।

आफ्नौ हैसियतभन्दा धेरै त्यो पनि ‘सर्टकर्ट’ बाटोबाट कुनै पनि कुरा पाउन खोज्दाको परिणाम यो सिनेमाले देखाउँछ । एकातिर युवाको चाहना अर्कातिर ती चाहनालाई रोक्ने सीमितता । यो चलचित्रले छर्लङ पार्छ । सीमित स्रोत साधनको परिधिभित्र बसेर असीमित इच्छा आकांक्षा पाल्यो भने त्यसका दुस्परिणाम के कस्ता हुन सक्छन् यो सिनेमाले दिने एउटा सन्देश हो । यो सँगै आधुनिकताको नाममा निर्मम बन्दै गएको काठमाडौँ सिनेमाले उद्घाटित् गर्ने अर्को पाटो हो । यी र यस्तै विषय देखाउन केही समय अगाडि चिसो मान्छे बनाएका दीपेन्द्रले अहिले दर्शकले खोजेको स्वादमा के घर के डेरा पस्किए ।

सायद दर्शकले अहिले खोजेकै यस्तै सिनेमा हो । त्यसैले त प्रदर्शकले उच्च शोज दिए । दर्शकले रुचाए । पहिलो दिनको पहिलो शोजमा करिब चालीस प्रतिशतको अकुपेन्सी साँझसम्म पुग्दा उकालो लागेर असी माथि पुग्यो । केही हल त हाउसफुल भए । केही हलमा कलाकार पुगेका पनि थिए ।

कहिले पशुपतिप्रसाद र आमा जस्तो गम्भीर विषय भनेर दर्शकको मन जित्ने निर्देशक दीपेन्द्र के खनाल कहिले चाहीँ फरक स्वादमा चङ्गा चेट र के घर के डेरा लिएर आइपुग्छन् ।

कसैले फरक धारका सिनेमाको वकालत गरिरहेका छन् । कसैले कमर्सियल । नेपाली पनका लागि फरकधार ठिक हो । सिनेमा उद्योगलाई चलायमान बनाइरहन कमर्सियल । जसले जुन धारको वकालत गरे पनि यी दुई पक्ष अकाट्य सत्य हुन् । त्यसैले यी दुवै धारका चलचित्र नेपाली सिनेमा उद्योगलाई सम्मुनत बनाउन निर्विकल्प आवश्यक छ । त्यसैले त होला एउटै निर्देशक कहिले आमा र चिसो मान्छे लिएर गम्भीर दर्शकसामु आइपुग्छन् कहिले मनोरञ्जनात्मक सिनेमाका दर्शकका लागि के घर के डेरा लिएर आइपुग्छन् ।

“सिनेमा हेरेर दर्शक रमाइरहनु भएको छ । घरी खित्का छोडेको हाँसो त घरी मन्द हाँसो हलमा दर्शकको देखिएको छ,” निर्देशक दीपेन्द्र के खनाल सुनाउँछन्, “दर्शकले सिनेमा मन पराउनु भएको छ । देशभरका सिनेमा हलबाट सिनेमा हेरेर निस्किएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ ।”

सिनेमाले राम्रो ओपनिङ गरेको उनले बताए । “हिजो पहिलो दिन जसरी सिनेमा हलमा दर्शकको उपस्थिति रह्यो । त्यो भन्दा झन राम्रो आज छ”, उनी भन्छन्, “आज हामी कलाकारसहित काठमाडौंका विभिन्न हलमा पुग्नेछौँ । दर्शकसँगै बसेर सिनेमा हेर्ने छौँ । दर्शकको प्रतिक्रिया लिने छौँ । दर्शकलाई तिहारको शुभकामना भेटेरै पनि दिने छौँ ।”

दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र हिजो शुक्रबारबाट प्रदर्शनमा आएको हो । यो सिनेमाले मिल्टप्लेक्समा उच्च शोज पाएको छ ।