‘उचाई’ नेपाल शब्दको पर्यायवाची

‘उचाई’ नेपाल शब्दको पर्यायवाची

द सिनेमा टाइम्स
0
Shares

नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे 
उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे 

राष्ट्र कवि माधव प्रसाद घिमिरेको यो यी शब्दले नेपालको पहिचान झल्काउछ । संसारमा नेपालको पहिचान ‘उचाई’ हो । हाम्रो देशको जस्तो उचाई संसारमा अन्त कतै छैन ।

८ हजार मिटर माथिको उचाई मृत्युसंग नजिक मानिन्छ । र यस्ता उचाई विश्वमा १४ ठाउँमा छन् । जसमध्येको ८ ओटा उचाई नेपालमा पर्छन ।

त्यसैले होला बलिउड निर्देशक सुरज वर्जत्यले आफ्नो आगामी सिनेमाको नाम ‘उचाई’ जुराए । नेपाल मै छायांकन गरिएको सिनेमाको नाम ‘नेपाल’ शब्दको पर्यायवाची नै मान्दा केहि फरक पर्दैन।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेनजोङ्पा, परिनिती चोपडा, नीना गुप्ता जस्ता चर्चित कलाकारहरुले अभिनय गरेको सिनेमा मुख्य रुपमा नेपालको पर्यटनसंग जोडिएको छ । यसले विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट नियाल्न चाहनेहरुको कथा पेश गर्छ ।

‘त्यहाँ प्रत्येक दिन चुनौती थियो । किनकि मैले यसअघि यस्तो आउटडोरमा यो खालको सिनेमा गरेको थिएँन ।’ निर्देशक सुरज नेपाल छायांकनको किस्सा सम्झिन्छन ।

‘प्रोडक्सनको हिसावले त्यहाँ निक्कै गाह्रो थियो । यसअघि एभरेस्टको गोरेटो बाटोमा कुनैपनि बलिउड सिनेमा छायांकन भएको थिएन, त्यो दुर्गम ठाउँ भएकाले ।’ सहायक निर्देशक एवं निर्माता अवनिश एस वर्जत्यले सगरमाथा क्षेत्रको अनुभव साटे ।

‘नेपाल गाह्रो छ । जब हामि लुक्ला अवतरण गर्छौ । त्यहाँ कुनै यातायात छैन । लोकेशनसम्म पुग्न तपाईले आफ्नै खुट्टाको सहायता लिनु पर्छ । ४ हजारदेखि ४५ सय मिटरको उचाईमा छायांकन गर्न सजिलो छैन ।’ क्रियटिभ डाइरेक्टर सुरभी होरो दु:ख स्मरण गर्छिन ।

‘३७ वर्षे करिअरमा मैले यो जतिको माथिल्लो क्षेत्रमा छायांकन गरेको थिएन । लामो समयसम्म प्रकृतिसंग नजिक हुने अवसर पाएको थिएन । नेपालमा त्यो प्राप्त गरें ।’ कलाकार अनुपम खेरले नेपाल सम्झीए ।

‘मलाई मनाङ एकदमै मन पर्यो । शान्त, त्यहाँ स्वच्छ हावा थियो । अनि हामीले एक-अर्कालाई साथ दिएका थियौं ।’ कलाकार बोमन इरानी स्मरण गर्छन ।

(२०२१ मा अनुपम खेर, बोमन इरानी र परिनिती चोपडासहितको जम्बो टिम नेपाल आएर सगरमाथा र अन्नपूर्ण क्षेत्रमा सिनेमाको ‘उचाई’को छायांकन सम्पन्न गरेको थियो । सगरमाथा र अन्नपूर्ण ८ हजार मिटर माथिका चुचुरा हुन् ।)