ठुला चाड नेपाली सिनेमाको लागि फलदायी सावित

ठुला चाड नेपाली सिनेमाको लागि फलदायी सावित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली हिन्दुहरुको ठुला चाड दशैँ, तिहार र छठ नेपाली सिनेमाको लागि फलदायी सावित भएका छन् । यी चाडको सेरोफेरोमा रिलिज भएका ४ सिनेमा बक्सअफिसमा सफल भए ।

यो डेढ महिना बढीको समयमा घरेलु बक्सअफिस नेपाली सिनेमामय बन्यो । यसपटक विदेशी सिनेमामाथि नेपाली सिनेमाले धावा बोले ।

असोज ७ मा रिलिज भएको ‘प्रेमगीत ३’ले घरेलु बक्सअफिसबाटै आफ्नो लगानी सुरक्षित गरेर केहि प्रतिशत नाफाको व्यापार गर्न सफल भयो । ‘प्रेमगीत ३’ यो वर्षको चौथों हिट सिनेमाको रुपमा दरियो ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको प्रेमकथानक सिनेमामा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका थिए ।

यस्तै असोज २१ मा रिलिज भएको ‘दुई नम्बरी’ले पनि बक्सअफिसमा लगानी सुरक्षित गरेर नाफा कमाउन सफल भयो । दयाहाङ राई र सौगात मल्लको जोडीले ‘कबड्डी ४’पछि लगातार दोस्रो हिट सिनेमा दिए ।

दीपेन्द्र लामाले निर्देशन गरेको सोसियल कमेडी सिनेमामा उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङलगायतका कलाकारको पनि मुख्य भूमिका थियो ।

यस्तै तिहारको छेको पारेर कार्तिक ४ मा रिलिज भएको ‘के घर के डेरा’ले पनि पहिलो साता मै लगानी उठाउन सफल भयो ।

दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ वर्षको छैटौं हिट सिनेमा सावित भयो । सिनेमा अहिले तेस्रो सातामा प्रदर्शन भैरहेको छ ।

सोसियल कमेडी सिनेमामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र बानियाँलगायतका कलाकारहरुको अभिनय छ ।

यो सिनेमाको सफलतासंगै यस वर्ष अभिनेता दयाहाङ राईले लगातार तीन हिट दिएर ह्याट्रिक पुरा गरेका छन् । दयाहाङ लिड ‘कबड्डी ४’सहित ‘दुई नम्बरी’ले सफलता स्वाद चाखे ।

तिहार लगतै रिलिज भएको ‘महापुरुष’ले दोस्रो सातासम्म पनि आक्रामक व्यापार गरिरहेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण सिनेमाले लामो समयसम्म बक्सअफिसमा राज गर्ने छनक देखाएको छ । प्रदर्शनको पहिलो साता मै लगानी रिकभर गरेको सिनेमालाई दर्शकले निक्कै रुचाएका छन् ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको सिनेमाले पहिलो साता ४.८७ करोडको ग्रस कलेक्सन गरिसकेको छ ।

‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रुगते’ जस्ता सफल सिनेमा निर्देशन गरिसकेका प्रदीप भट्टराईले ‘महापुरुष’को निर्देशन गरेका हुन् ।

यसअघि घरेलु बक्सअफिसमा ‘ए मेरो हजुर ४’ र ‘झिँगेदाउ’ले हिटको व्यापार गरेका थिए । यस्तै ‘कबड्डी ४’ ब्लकबस्टर सावित भएको थियो । यो सिनेमाले घरेलु बक्सअफिसमा सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो ।