अक्षयको ‘राम सेतु’ र अजयको ‘थ्याङ्क गड’ बक्सअफिसमा फ्लप

अक्षयको ‘राम सेतु’ र अजयको ‘थ्याङ्क गड’ बक्सअफिसमा फ्लप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड बक्सअफिसको लागि साल २०२२ राम्रो रहेन । सालको १० महिना बित्दा दुई सिनेमा मात्र शुद्ध हिट भएको तथ्यले बलिउडको हविगत प्रष्ट्याउछ ।

केहि लगानी रिकभर गरेका सिनेमालाई छाड्ने हो भने यो साल बलिउडले दिएका हिट सिनेमा ‘कास्मिर फाइल्स’ र ‘भूल भुलैया २’ हुन् ।

‘गंगुबाई काठियावाडी’, ‘जुगजुग जियो’ र ‘ब्रमास्त्र’ले लगानी रिकभर गर्दा ‘रकेट्री’ले केहि नाफाको व्यापार गर्यो । यो नै बलिउडको बक्सअफिसको हाइलाइट्स हो ।

तिहारको मौकामा रिलिज भएका दुई ठुला सिनेमा ‘राम सेतु’ र ‘थ्याङ्क गड’को असफलताले बलिउड बक्सअफिस धर्मराएको छ ।

अक्षय कुमार, ज्याक्लिन फर्नान्डेज, नूस्रत भरुचा स्टारर ‘राम सेतु’ले तिहारको सातामा जम्मा ६० करोड कलेक्सन गर्न सफल भयो । पौराणिक एक्सन एडभेन्चर सिनेमा १ सय ५० करोडको बजेटमा निर्माण भएको हो ।

पहिलो साताको व्यापारलाई हेर्ने हो भने सिनेमाको लाइफटाइम कलेक्सन ७५ करोड आसपास पुग्ने देखिन्छ । बलिउडका थुप्रै संचारमाध्यमले पहिलो साता नै सिनेमालाई फ्लपको ट्याग दिएका छन् ।

अभिनेता अक्षयको सालको यो चौथों फ्लप सिनेमा हो । यसअघि ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ फ्लप दिएर अक्षयले ह्याट्रिक मारिसकेका थिए ।

यस्तै अजय देवगण र सिद्धार्थ मलहोत्रा स्टारर ‘थ्याङ्क गड’को व्यापार निक्कै दयनीय देखिएको छ । ७५ करोडको बजेटमा निर्मित सिनेमाले तिहार सातामा जम्मा ३०.७५ करोड कलेक्सन गर्न सफल भयो ।

पहिलो साताको व्यापार हेर्दा यो सिनेमाले पनि फ्लपको ट्याग पाइसकेको छ । सिनेमाले लाइफटाइम ४० देखि ४५ करोड आसपास कमाउने प्रक्षेपण छ ।

अतिथि भूमिका निर्वाह गरेका ‘गंगुबाई काठियावाडी’ र ‘आरआरआर’लाई छाड्ने भने अजयको लागिपनि २०२२ राम्रो रहेन । यसअघि अजय स्टारर ‘रनवे ३४’ बक्सअफिसमा डिजास्टर सावित भएको थियो ।

यो साल आमिर खान, अमिताभ बच्चन, प्रभास, शाहिद कपूर, टाइगर श्रोफ, रणवीर सिंह, रनबिर कपूर, जोन अब्राहम जस्ता स्टार कलाकारका सिनेमा बक्सअफिसमा पत्तासाफ भए ।