शुक्रबार नेपालमा पनि रिलिज हुनेछ बलिउड सिनेमा ‘उचाई’

शुक्रबार नेपालमा पनि रिलिज हुनेछ बलिउड सिनेमा ‘उचाई’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा छायांकन गरिएको बलिउड सिनेमा ‘उचाई’ भोलीबाट नेपालमा पनि रिलिज हुने भएको छ । बुधबारसम्म यो सिनेमा नेपाल रिलिज हुने नहुने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले सिनेमालाई नेपालमा वितरण गर्ने भएको हो ।

७० प्रतिशत भन्दा बढी दृश्य नेपालमा खिचिएको सिनेमामा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणको समेत प्रयोग गरिएको छ । बलिउड सिनेमा भएपनि यो सिनेमाले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ । यसैले, नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो सिनेमा नेपाल भित्राउन चासो नदिएको अवस्थामा ट्राभलर्स क्रिउले राम्रो रकम तिरेर नेपालमा ल्याएको हो ।

सिनेमालाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो सिनेमाको लाइन प्रोड्यूसरमा नेपालको चर्चित सिनेमा निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ । नेपालमा सिनेमाको छायांकन गर्दा करिब २० करोड खर्च भएको थ्रि ह्विलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

सिनेमा वितरण गर्न लागेका राजन पुरीले भने-‘यो बलिउड सिनेमा मात्र होइन, यसमा नेपालीहरुको भावना पनि जोडिएको छ । नेपालका दृश्यहरुलाई क्यामेरामा कैद गरिएको सिनेमालाई आम नेपालीहरुमाझ देखाउन आवश्यक छ । यसले, आन्तरिक पर्यटक वृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ । यसैले, यसपटक हामीले भावनात्मक रुपमा सिनेमासँग जोडिने निर्णय गरेका हौं ।’

सिनेमाको बुकिङ नेपालभर खुलिसकेको छ र मल्टिप्लेक्सले सुखद शोज दिएका छन् । क्यूएफएक्स चेनले सिनेमाका लागि १७ शोज दिएको छ । यस्तै, बीग मुभिजले सिनेमालाई ४ शोज दिएको छ । यस्तै, वान सिनेमाज्ले कालिमाटी र नयाँ बाँनेश्वरमा गरि ५ शोज सिनेमाका लागि उपलब्ध गराएको छ ।

सुरज बर्जात्याको निर्देशनमा तयार भएको सिनेमामा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा निर्माण भएको सिनेमालाई राजश्री प्रोडक्शनले बनाएको हो ।