लगातार सिनेमा असफल भएपछि पारिश्रमिक घटाउँदै अक्षय कुमार

लगातार सिनेमा असफल भएपछि पारिश्रमिक घटाउँदै अक्षय कुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारका अभिनित सिनेमा एकपछि अर्को लगातार असफल भइरहेका छन् । यस वर्ष उनले अभिनय गरेका सिनेमा ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’ प्रदर्शनमा आएपनि सबै सिनेमा बक्सअफिसमा असफल भएका थिए । वर्षौंपछि उनले अभिनय गरेका सिनेमा गातार असफल भएका हुन् ।

जसले गर्दा अक्षयलाई निकै निराश बनाएको छ । लगातार चार अपेक्षाकृत सिनेमा नचलेपछि अक्षयले पारिश्रमिकमा भारी कटौती गर्ने निर्णय गरेका छन् । एक सिनेमाका लागि सय करोडदेखि एक सय ३५ करोडसम्म पारिश्रमिक लिँदै आएका उनले अब ३०-४० प्रतिशत पारिश्रमिक घटाउन लागेका हुन् । हिन्दुस्तान टाइम्सको लिडरसिप समिट इभेन्टमा साउथ सुपरस्टार राम चरणसँग पुगेका उनले पारिश्रमिक घटाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘म पारिश्रमिक ३०-४० प्रतिशत कम गर्न चाहन्छु । निर्माता र हल सञ्चालकले पनि यो बुझ्न जरुरी छ कि अहिले मन्दीको समय हो । दर्शकसँग मनोरञ्जनमा खर्च गर्नका लागि सीमित पैसा छ । अब सबै कुरा बदल्न आवश्यक छ ।’ दर्शकहरुले टिपिकल कथावस्तु माथि निर्माण गरिएका अलग सिनेमा खोजेकाले आफूहरुले बसेर विचार गर्नुपर्ने उनको भनाई छ । उनले अब विगतमा भएका गल्ती दोर्होयाउन नहुने तर्क गरेका छन् ।

उनी अगाडि भन्छन्, ‘म पूरै अलग तरिकाले सुरुवात गर्न चाहन्छु र मैले यो गर्न सुरु गरिसकेको छु । हामीले बुझ्न आवश्यक छ कि दर्शकलाई के चाहिएको हो ।’ कोरोना महामारीपछि बलिउडमा ठूलो संकट देखापरेको छ । साउथ सिनेमा एकपछि अर्को सुपरहिट भैरहँदा बलिउड सिनेमा डुबेका डुब्यै छन् । बलिउडले हलिउडलाई पछ्याउन खोज्दा यस्तो विकराल अवस्था आएको टिप्पणी बलिउड सिनेमाकर्मी माझ भैरहेको छ ।