संसद्को ढोका उघार्ने कोसिसमा रेखा

संसद्को ढोका उघार्ने कोसिसमा रेखा

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नायिका रेखा थापा भन्न बित्तिकै तपाईंको दिमागमा कस्तो तस्बिर आउँछ ? पक्कै पनि आम नायिका र आम महिलाभन्दा फरक तस्बिर आउछ होला । रेखाले हिम्मतवाली नायिकाको छवि बनाएकी छिन् । हिम्वतवाली, निडर र स्पष्टवक्ताको छवि रेखाले आमजनतामाझ बनाएकी छिन् ।

त्यसो त उनको यो छवि नेपाली दर्शक र मिडियामा मात्रै सीमित छैन । उनलाई नजिकबाट नियाल्ने जो कोहीले पनि उनलाई यसै भन्छन् । विश्वास लागेन ? त्यसो भए बलिउड अभिनेत्री मनिषा कोइरालाको अभिव्यक्ति सुने पुग्छ । मनिषाले रेखालाई निडर, साहसिक र हिम्मतवाली नेतृ भनेकी छन् ।

मनिषाले रेखालाई निडर, साहसिक र हिम्मतवाली नेतृको संज्ञा मात्रै दिइनन् । उनले निर्वाचनमा रेखालाई जिताउन अपिल पनि गरिन् ।

मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा रेखाले उमेदवारी दिएकी छिन् । उनै रेखालाई मनिषाले खुलेरै भिडियोमार्फत मनिषाले विजयका लागि अग्रिम शुभकामना दिँदै मोरङ क्षेत्र नम्बर ३ का मतदाता समक्ष भोट अपिल पनि गरेकी छिन् ।

प्रतिनिधिसभाका लागि रेखा राप्रपाबाट चुनावी मैदानमा छिन् । यो निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने रेखा एक्लो प्रतिस्पर्धी हुन् ।

उनले महिलाका लागि जसरी नेपाली सिनेमामा प्रायः एक्लै आवाज उठाइन्, राजनीतिमा पनि उनले त्यही आत्मबल उच्च साहस देखाइरहेकी छिन् । त्यसो त हक्की स्वभावकी रेखा पार्टीभित्रै पनि फाइट गरिरहेकी युवा नेतृ हुन् । पार्टीको महाधिवेशनमा उनी महामन्त्रीमा कुन्ती शाहीसँग प्रतिस्पर्धामा थिइन् । तर, पराजित हुन पुगिन् । पराजित भए पनि अध्यक्ष राजेन्द्र लिंदेनले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

दृढ इच्छाशक्ति र जुझारु स्वाभावकी रेखालाई पार्टीले उच्च मूल्यांकन गर्दै केन्द्रीय कार्यसम्पादन समिति सदस्य मनोनीत गर्यो । अन्ततः उनलाई पार्टीले प्रत्यक्षतर्फको टिकट नै दियो ।

उच्च साहससँगै लगनशील रेखा लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा छिन् । जनताको घरदैलोमा पुगेर मत मागिरहेकी छिन् । जनताका समस्या सुनिरहेकी छिन् ।

त्यसो त रेखालाई मत माग्न सजिलो पनि छ । एक दशकभन्दा लामो समय नेपाली चलचित्र उद्योगमा एक छत्र राज गरेकी रेखाको लोभलाग्दो स्टारडमले उनको चुनावी प्रचार अभियानलाई सहयोग गरिरहेको छ । अरु उमेदवारलाई आफ्ना कुरा राख्न जनता जुटाउन हैरान हुन्छ । तर, रेखालाई भने यो चुनौती छैन । उनीलाई त एक झल्को हेर्न मात्रै पनि कतिपय मतदाता लालायित छन् । उनी जहाँजहाँ पुग्छिन्, फोटो र सेल्फी खिच्नेको धुइरो लागिहाल्छ । जहाँजहाँ रेखा पुग्छिन्, स्थानीयले उनको भव्य स्वागत गर्छन् ।

त्यसमा पनि रेखाको चुनावी प्रचार शैली अलि बेग्लै छ । सिनेमाकी नायिका अलिअलि फिल्मी शैली त आउने नै भयो । स्वाभाविक पनि हो ।चुनावी अभियानमा रहेकी रेखा केही समय अगाडि बेलबारी नगरपालिका वडा नम्बर ११ मा आफैँ सिटीसफारी चलाउँदै पुगिन् । घरदैलो कार्यक्रममा रहेकी रेखा सिटीसफारी चलाउँदै आएको देखेर स्थानीय छक्क परे । जस्ता मतदातामा पुग्छिन् रेखा त्यस्तै बनिदिन्छिन् । यो त उनको विशेषता नै हो । रेखा श्रमिकका बिचमा पुगेर मत माग्नु पर्दा सिटीसफारी चलाएर जान्छिन् । युवामाझ पुग्नु परे युवाजस्तै बनिदिन्छिन् ।

सोही वडामा रेखाले क्यारेमबोर्ड खेल्दै गरेका युवा भेटिन् । उनी पनि तिनै युवासँग क्यारेमबोर्ड खेल्न थालिन् । र आफूलाई भोट मागिन् । आफूजस्तै बनेर आइपुगेकी रेखालाई सबैले स्वागत गर्ने नै भए ।

चुनाव घोषणा भएलगत्तै मोरङ पुगेकी रेखा अहिले पनि उतै छिन् । अब त मतदानको दिन संघारमै आइपुग्यो, आफ्नो क्षेत्रमा हुने नै भइन् ।

घरदैलो कार्यक्रममा रेखा मतदातासँग हात जोडेर अनुहार देखाएर मात्रै हिँड्दिनन् । दोहोरो संवाद पनि गर्छिन् । जनताका समस्या सुन्छिन् । समस्या सुन्दिनन् मात्रै, कहाँ कसको के समस्या छन् सोधेर टिपोट गर्छिन् । आफूलाई मतदान गरेर विजयी गराउन आग्रह गर्छिन् । विजयी भए समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउँछिन् ।

रेखाले चुनाव जित्छिन् वा जित्दिनन् त्यो त मतपरिणाम नै कुर्नुपर्छ । तर, हिम्मत नहार्ने रेखाको स्वाभाव ओपन सेक्रेट हो । उनले छोटो समयमै राप्रपामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरिन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फको टिकट पाइन् । अहिले विजयी हुन अहोरात्र खटिरहेकी छिन् । सफलता प्राप्तिका लागि उनको यो ढिट स्वभाव नै उनको सफल जीवनको कडी हो । सफलता प्राप्तिको सूत्र हो ।