मल्टिप्लेक्समा ‘अवतार २’को वर्चश्व, ८९.९० प्रतिशत शोज प्राप्त

मल्टिप्लेक्समा ‘अवतार २’को वर्चश्व, ८९.९० प्रतिशत शोज प्राप्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आउने हलिउड सिनेमा ‘अवतार: द वे अफ वाटर’ले नेपाली मल्टिप्लेक्समा वर्चश्व कायम गरेको छ ।

मल्टिप्लेक्सले सार्वजनिक गरेको शोजमा जेम्स क्यामरुन निर्देशित सिनेमाले ८९.९० प्रतिशत हिस्सा कब्जा गरेको छ । ३ घण्टा १२ मिनेट लामो सिनेमाको लागि प्रत्येक शोमा ४ घण्टाको समय निर्धारण गरिएको छ ।

२०२२ मा रिलिज भएको ‘आरआरआर’ले नेपाली मल्टिप्लेक्समा शोजको सर्वाधिक ९५.१६ प्रतिशत हिस्सा ओगटेको थियो । हलमा प्रदर्शनरत अन्य सिनेमाका कारण ‘अवतार’ले ‘आरआरआर’को रेकर्ड तोड्न सकेन ।

यस्तै यो साल प्रतिशतमा सर्वाधिक शोज पाउने सिनेमाको तेस्रो स्थानमा ‘कबड्डी ४’ छ । दयाहाङ राई र सौगात मल्ल स्टारर सिनेमाले ८८.७५ प्रतिशत शो पाउँदा ‘केजीएफ: च्याप्टर २’ले ७६.१५ प्रतिशत शो कब्जा गरेको थियो ।

कुन हलमा कति शोज ?

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले थ्रिडी र टुडीमा गरेर ८० शो प्राप्त गरेको छ । यस्तै वान सिनेमाज २१ शो निर्धारण गरेको छ ।

एफक्युब, आइएनआइ र सिनेप्लेक्स मुभिजले समान १२ शो निर्धारण गर्दा बिग मुभिज, क्युज र बिएसआरले समान १० शो उपलब्ध गराएका छन् ।

यस्तै सिडिसी र रन्जना सिनेप्लेक्समा ८/८ शो पाएको सिनेमाले किर्तिपुर सिनेप्लेक्सका सम्पूर्ण ४ शो प्राप्त गरेको छ ।

१०.१० प्रतिशत शोमा प्रदर्शनरत सिनेमा 

बक्सअफिसमा ‘अवतार’को आगमनसंगै प्रदर्शनरत केहि सिनेमा हलबाट उत्रिएका छन् । केहि सिनेमा एकदमै कम शोमा खुम्चिएका छन् ।

अजय देवगण स्टारर ‘दृश्यम २’ले ५.७६ प्रतिशत, महजोडी अभिनित ‘महापुरुष’ ३.३६ प्रतिशत र ‘उचाई’/’भेडिया’ समान ०.४८ प्रतिशतमा खुम्चिएका छन् । 

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से/बुटवल, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, रन्जना सिनेप्लेक्स, वान सिनेमाज बानेश्वर/कालिमाटी, सिनेप्लेक्स पोखरा/चितवन र एफक्युब हल मात्र समावेश छन्)