विवादमा तानियो ‘पठान’को ‘बेसरम रंग’, दीपिकाको पहिरनले भारतमा तरंग

विवादमा तानियो ‘पठान’को ‘बेसरम रंग’, दीपिकाको पहिरनले भारतमा तरंग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको कमब्याक सिनेमा ‘पठान’को गीत रिलिजसँगै विवादमा तानिएको छ । सिनेमामा समावेश ‘बेसरम रंग’ बोलको गीतमा अभिनेत्रत्री दीपिका पादुकोणले लगाएको लुगालाई लिएर विवाद चुलिएको हो ।

सिनेमा ‘पठान’को उक्त गीतमा दीपिकाले लगाएको केशरी रङको लुगालाई लिएर सर्वसाधारणदेखि प्रदेश सरकारका मन्त्री र विपक्षी पार्टीका नेतासमेत विरोधमा उत्रेका छन् । सिनेमाको गीत हेरेर मध्ये प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले गीतमा दीपिकाले लगाएको लुगा भारतीय समाज सुहाउँदो नभएको बताएका छन् ।

निर्माण टिमले कि त त्यो गीत हटाउनु पर्ने कि त गीतमा समावेश दृश्य परिवर्तन गर्नुपर्ने नत्र भने सरकारले सिनेमाविरुद्ध कारबाही गर्ने चेतावनी उनले दिएका छन् । ‘दीपिकाले लगाएको लुगाले हाम्रो आस्थालाई प्रहार गरेको छ र गीत फोहोरी मनसायका साथ खिचिएकाले लुगा र दृश्य परिवर्तन गर्नुपर्छ,’ मिश्रले भनेका छन् ।

सार्वजनिक गीतमा दीपिकाले लगाएको लुगालाई लिएर हिन्दू समर्थक मोर्चाका विभिन्न संगठन पनि विरोधमा उत्रिएका छन् । उनीहरूले आफूहरूले पवित्र मानेर लगाउने रङलाई गलत मनसायका साथ प्रस्तुत गरेको भन्दै गीत र सिनेमाको विरोध गरिरहेका छन् ।

भारतका विभिन्न ठाउँमा गीतको विरोध गर्दै अभिनेता शाहरुख खान र दीपिका गादुकोणको पुतला समेत जलाइएको बलिउड मिडियाले उल्लेख गरेका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा पठानलाई सिद्धार्थ आनन्द निर्देशन गरेका हुन् ।

‘पठान’को गीत ‘बेसरम रङ’ १२ डिसेम्बरमा सार्वजनिक भएको थियो । आगामी बर्षको जनवरी २५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सिनेमामा जोन अब्राहमको पनि मुख्य भुमिका रहेको छ ।