रोहित-रणवीरको ‘सर्कस’ नेपालमा सोलो रिलिज

रोहित-रणवीरको ‘सर्कस’ नेपालमा सोलो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोहित सेट्टी निर्देशित सिनेमा ‘सर्कस’ शुक्रबारदेखि नेपाली बक्सअफिसमा रिलिज भएको छ ।

यो शुक्रबारको सोलो रिलिज हो । अघिल्लो साता जस्तै यो सातापनि नेपाली सिनेमा रिलिज भएनन् । बक्सअफिस ‘अवतार २’ भर्सेस ‘सर्कस’ भएको छ ।

मल्टिप्लेक्समा करिब ५१ प्रतिशत शो ‘अवतार २’संग छ । रणवीर सिंह स्टारर ‘सर्कस’ले ४६.४६ प्रतिशत शो पाएको छ । ‘अवतार २’ले पहिलो शुक्रबार करिब ९० प्रतिशत शोबाट प्रदर्शन सुरु गरेको थियो ।

यस्तै गौरवमय ५१ दिन मनाएको नेपाली सिनेमा ‘महापुरुष’सहित अजय देवगण स्टारर ‘दृश्यम २’ केहि हलमा टिकिरहेका छन् ।

पिरियड कमेडी ड्रामा ‘सर्कस’मा रणवीरसंगै पूजा हेग्डे, ज्याक्लिन फर्नान्डेज, जोनी लिवर, संजय मिश्र, वरुण शर्मा, सिद्धार्थ जाधव, मुकेश तिवारी, सुलभा आर्या, अश्विनी कल्सेकरलगायतका कलाकारहरुको अभिनय छ ।

सुपरहिट सिनेमा ‘सिम्बा’सहित रणवीरसंग निर्देशक सेट्टीको यो लगातार तेस्रो सहकार्य हो । ‘सूर्यवंशी’मा पनि रणवीरले राम्रो स्क्रिन स्पेस पाएका थिए ।

‘सर्कस’ हिट भएमा रोहित-रणवीर जोडीले बक्सअफिसमा ह्याट्रिक गर्नेछन् ।