डिसेम्बर फल्स : आर्यनकै भर

डिसेम्बर फल्स : आर्यनकै भर

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्यन सिग्देल नेपाली सिनेमा उद्योगमा  रोजाइका नायकमा पर्छन  । चकलेटी हिरोमा गतिलो छवि बनाएका आर्यन अलि बढी चुजी भए । कारण उनी लगातार हलमा देखिएनन् । करिब चार दर्जन सिनेमामा काम गरेका उनी छानेर सिनेमा खेल्ने नायक हुन् । ‘किस्मत’बाट आफ्नो किस्मत बदलेका आर्यनका दर्जन बढी सिनेमा हिट छन् ।

उनै आर्यनको अर्को चलचित्र यही पुस १५ बाट रिलिज हुँदैछ, डिसेम्बर फल्स । सिंगो सिनेमा आर्यनको काँधमा छ । त्यसो त उनी सिंगो सिनेमा काँधमा बोकेर हिँडेका नायक नै हुन् । लभ र रोमान्समा सधैँ फिट आर्यनले डिसेम्बर फल्स आफू सुहाउँदो सिनेमा भएको बताएका छन् । उनी यो चलचित्र दर्शकले मन पराउनेमा ढुक्क छन् । त्यसैले त उनले केही समय अगाडि भने- अब म डिसेम्बर फल्स जस्ता चलचित्र मात्रै खेल्छु । दर्शकले आफूलाई जस्तो भूमिकामा देख्न चाहेको हो त्यस्तै भूमिकामा यो चलचित्रमा रहेको आर्यनले बताए ।

त्यसो त डिसेम्बर फल्स हिट हुनेमा आर्यन मात्रै होइन यो सिनेमाका निर्माता पनि ढुक्क छन् । निर्माता रामप्रसाद रिजालले भने, यो सिनेमा हिट मात्रै हुने होइन ९ करोड कमाउँछ । आफूले सिनेमाको मेकिङमा कुनै कम्प्रमाइज नगरेको भन्दै मेकिङ रिच रहेकाले कम्तीमा ९ करोड ग्रस कलेक्सन गर्ने उनले दाबी गरे ।

सिनेमालाई आर्यन र कबड्डी फेम्ड उपासना सिंह ठकुरीले लिड गरेका छन् । पूर्ण रुपमा कमर्सियल सिनेमा भएकाले यसलाई आर्यनको भर छ । त्यसो त यो वर्ष नेपाली चलचित्र मजाले चलि पनि रहेका छन् । कबड्डीदेखि नेपाली चलचित्रको दमदार व्यापार सुरु भएको थियो । त्यसयता ‘झिंगे दाउ, दुई नम्बरी, के घर के डेरा, प्रेम गीत ३, महापुरुष’ लगायतका चलचित्रले नेपाली सिनेमा नगरीमा लोभलाग्दो ग्रस कलेक्सन गरे । तर महापुरुष यता भने नेपाली सिनेमाको बजारमा उछाल आएको छैन ।

चुनाव पछि ब्रेक लागेको नेपाली सिनेमाको बजारलाई आर्यनले फर्काउने धेरैको अपेक्षा छ, निर्माण टिमसँगै । गुड लुकिङ हिरो आर्यनले दर्शक हलमा ल्याउने धेरैको विश्वास छ । सिनेमाको ट्रेलरमा प्रोडक्सन रिच नै देखिएको छ । विषय माया, प्रेम र धोका नै छ । अर्थात युवा पुस्ता सिनेमाको लक्षित वर्ग हा । यद्यपि सिनेमा सबै उमेर समूहका दर्शकलक्षित रहेको आर्यनको दाबी छ ।

वान साइडेड प्रेम, प्रतीक्षा, इम्प्रेस, लभ, डेटिङ, रोमान्स, धोका, विछोड, मिलन अनि, दुर्घटना सिनेमाका मुख्य दुई कलाकार आर्यन र उपासनाको सिनेमाको जर्नी हो । ट्रेलरले यति देखाउनु भनेको सिनेमा माया प्रेमको सेरोफेरोमा छ भन्ने हो । ट्रेलरमा उपासना र आर्यनका अलावा हास्य कलाकार शिवहरि पौडेल पनि छन् । यसको अर्को अर्थ हो सिनेमाको बिचबिचमा कमेडी पञ्चको प्रयोग छ । जसले दर्शकलाई साउने छ । निर्माण पक्षको दाबी पनि यही नै हो ।

एक समयका ‘नम्बर वान’ नायक आर्यन करिब तीन वर्षपछि दर्शक भेट्न सिनेमा मार्फत आउँदैछन् । यो भेट कस्तो रहला त्यो त पुस १५ पछि नै थाहा होला । तर टिजर, ट्रेलर र गीतले राम्रो संकेत दिइरहेको छ । गीतले सिनेमा दर्शकका लागि प्रतिक्षित बनिसकेको छ ।

एक समय थियो आर्यनका धेरै सिनेमा हिट हुन्थे ।डिसेम्बर फल्समार्फत आर्यन आफ्नो पुरानै क्रेज फर्काउन सुरमा छन , त्यो भने दर्शककै हातमा छ । तर आर्यन भन्दैछन्, मेरो स्टारडम र क्रेज होइन चलचित्रको क्रेज राम्रो होस् ।

सिनेमा रोमान्स, थ्रिल, सस्पेन्ससहितको कम्प्लिट प्याकेज भएको आर्यन बताउँछ । केही समय नेपाली सिनेमाको बजार निरासाजक रह्यो । त्यो दर्शकको टेस्ट अनुसारको सिनेमा नआउँदा बिग्रिएको बजारलाई फर्काउन दर्शकले खोजे जस्तो सिनेमा डिसेम्बर फल्स रहेको आर्यन ढुक्कले बताइरहेका छन् । सिनेमा रिलिजको पूर्व सन्ध्यामा उनी पोजेटिभ भाइब्स आइरहेको बताउँछन् ।

सिनेमा भन्दा बाहिरका व्यक्तिलाई सिनेमा देखाउँदा उनीहरूले पनि मन पराएको आर्यन बताउँदै आएका छन् । त्यसैले निर्माताले ९ करोड ग्रसको विश्वास पूरा हुनेमा उनी पनि आशावादी छन् । प्रतीक्षाको फल मिठो हुन्छ भन्दै आर्यनले नयाँ वर्षको उपहारको रूपमा आफ्नो सिनेमा आउन लागेको बताएका छन् । नर्सको जीवनमा आउने उतारचढाव नै निर्देशक प्रभिव झाको सिनेमाको कथा सार हो ।

कथा, एक्सन, थ्रिल, लभ र इमोसनको पूर्ण प्याकेज भएकाले अहिलेसम्मका आफ्ना सिनेमामध्ये यसबाट आफूले बढी नै अपेक्षा गरेको उनी बताउँछन् । ट्रेलरमा लभ र इमोसन देखाएको निर्माण पक्षले टिजरमा एक्सन पस्किएको थियो । त्यसैले आर्यन ढुक्कले भनिरहेका छन्, बच्चादेखि सबै उमेरका दर्शकका लागि सिनेमा रुचिकर रहेको छ ।

आर्यनले दुई दशकमा चार दर्जन चलचित्र मात्रै चलचित्रमा काम गरे । त्यसैले उनका चलचित्रको संख्या हेर्दा फ्ल्पभन्दा हिट र एभरेजको संख्या धेरै छ । कारण उनी निर्माण टिम र कथामा चुजी हुनु नै हो । त्यसैले यो सिनेमा पनि राम्रो हुनेमा दर्शकको अपेक्षा छ ।