‘चि मुसी चि’ नामले सिनेमाको कथालाई न्याय गरेको छ : प्रियंका कार्की

‘चि मुसी चि’ नामले सिनेमाको कथालाई न्याय गरेको छ : प्रियंका कार्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री प्रियंका कार्की आगामी पौष २२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’बाट निकै आशावादी छिन् । उनले काम गरेका अघिल्ला हरर सिनेमामा साउन्डमा चुकेको अनुभव गरेकी प्रिंयकाले ‘चि मुसी चि’ यस मामलामा उत्कृष्ट रहेको दाबी गरेकी छन् ।

हरर सिनेमामा साउन्डको भूमिका महत्त्वपूर्ण हुने भएकाले धेरै हरर सिनेमा साउन्डमै विग्रने गरेको उनी बताउँछिन् । तर, यसपटक साउन्डमा राम्रो काम भएको उनको दाबी छ । ‘मैले जति सिनेमा हेरेको छु, साउन्डमा एकदमै राम्रो काम भएको छ । यसका लागि निर्देशक र निर्मातालाई ‘स्ट्यान्डिङ ओभेसन’ दिनुपर्छ,’ उनी भन्छिन्, ‘स्क्रिप्ट आफैंमा राम्रो थियो । टिम पनि राम्रो भएकाले काम राम्रो निस्किएको छ ।’

काटमारवाला हरर सिनेमाको अपेक्षा ‘चि मुसी चि’बाट नगर्न अनुरोध गर्दै प्रियंकाले सिनेमामा हरर भएपनि जतिबेला पनि नतर्साउने स्पष्ट पारेकी छन् । मर्ण जेम्स र यश सैनीले मिलेर निर्देशन गरेको सिनेमामा प्रियंकाका अलवा आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, र बालकलाकार विज्ञ नेपाल र विभुती नेपालको पनि अभिनय रहेको छ ।

‘चि मुसी चि’ नामले सिनेमाको कथालाई न्याय गरेको अभिनेत्री कार्कीले बताइन् । ‘नामले सिनेमाको कथालाई न्याय गरेको छ जस्तो लाग्छ । जसरी ट्रेलरमा बच्चाको उपस्थिति देखिन्छ र चि मुसी चि गाइएको छ त्यसरी आफ्नो बच्चालाई चाहिँ गाएर नसुनाउनु होला । त्यो हररका लागि मात्र ठीक छ । ट्रेलरले सिनेमा बच्चामा आधारित छ भन्ने बुझाइसकेकाले नामले कथालाई न्याय गरेको छ भन्ने लाग्छ,’ उनले भनिन् ।

सिनेमाको निर्मातामा रिञ्जु केसी र प्रस्तुतकर्तामा अरुण चक्रावर्ती छन् । उत्कृष्ट हरर तथा थ्रिलर सिनेमा हेर्ने दर्शकको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्माण पक्षको दाबी छ । सिनेमालाई सुसन प्रजापतिले छायांकन गरेका हुन् ।