‘चि मुसी चि’ले तर्साउनेमा ढुक्क , अहिलेसम्मकै राम्रो हरर सिनेमा बनेको दाबी

‘चि मुसी चि’ले तर्साउनेमा ढुक्क , अहिलेसम्मकै राम्रो हरर सिनेमा बनेको दाबी

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रातको प्रहर, सुनसान सहर । तर, लगबग झिलिमिली । सहरको एउटा घर । घरको कोठा । कोठामा सुरुमा देखिन्छिन्– प्रियंका, डराइरहेको मुद्रामा । ठिक त्यस्तै भावमा ऋचा शर्मा पनि । तर, उनी केही खोज्दै बिरोलो चालमा अघि बढ्दै गरेकी । अनि देखिन्छिन् करिब उस्तै भावमा बेनिशा हमाल । देखिने पालो आयुषमान देशराज जोशीको । कसैको हातले उनको गाला मुसार्छ । कौसीबाट कसैले तल हेरिरहेको दृश्य । तर, कारको ढोका खोलेर औधी त्रसित मुद्रामा बिस्तारै गाडीबाट बाहिर निस्किँदै छन्, रवीन्द्र झा । फेरि देखिन्छिन्, बेनिशा । उनी घरबाट बाहिर निस्किँदै छिन् । एक पुरुष उनलाई रोक्न खोज्छन् ।

कार चलाइरहेकी प्रियंकाको अनुहारमा औधी डर छ । उनी अचानक पछि फर्किन्छिन् । र, चिच्च्याउँछिन् । पृष्ठभूमीको बच्चाको आवाजले । उसले आफ्नो बुवालाई केही कुरामा कन्भिन्स गर्न खोजिरहेको छ । पृष्ठभूमीमा सिनेमाको टाइटल बच्चाको आवाजमा गुन्जिरहन्छ । सँगै डर सिर्जना गर्ने दृश्य पनि छन् ।

यो हो शब्दचित्रमा चलचित्र ‘चि मुसी चि’को टिजर । यो टिजरले दर्शकलाई तर्सायो अथवा तर्साएन त्यो त दर्शकले अनुभूत गरेकै होलान् । तर, दर्शकले कमेन्टमा राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

नवीन श्रेष्ठ नाम गरेका एक फेसबुक प्रयोगकर्ता लेख्छन्–अंग्रेजी र हिन्दीमा यस्ता थुप्रै चलचित्र हेरियो । नेपालीमा पनि यस्तो चलचित्र बनेछ । सिनेमा एडभान्स हुने अपेक्षा गर्दै सिनेमामा केही कथा लुकेको देखिएको छ ।

यस्तै थुप्रै फेसबुक प्रयोगकर्ता वन्डरफुल टिजर भन्दै सिनेमाको पर्खाइमा रहेको बताएका छन् । बधाइ र शुभकामना निर्माण पक्षलाई दिएका छन् । यो त भयो तीन हप्ता अगाडि रिलिज भएको ‘चि मुसी ची’को ट्रेलरको कथा ।

अब लागौं ट्रेलरतिर, उही सुनसान सहर, त्यही टिजरको घर, अनि रातको समय । र, त्यही कोठा । कोठामा सुतिरहेकी प्रियंका सुरुमा बेडको ओड्ने भित्र छटपटिन्छिन् त्यसपछि जुरुक्क उठ्छिन् । देखिन्छिन् ऋचा शर्मा पनि । उनी केही सुनिरहेकी छन् । र, त्यही आवाज पछ्याइरहेकी छन् । आवाज पछ्याउँदै जाँदा उनले बाबा राजन खतिवडालाई आफ्नो कुरामा कन्भिन्स गरिरहेको दृश्य देख्छिन् ।

अनि देखिन्छ, खचाखच काठमाडौं सहरका घर । फराकिलो सडक । र, पार्किङमा प्रिंयका । अनि देखिन्छन् पहिलोपटक सामान्य अवस्थामा बेनिसा, आयुसमान, प्रियंका र ऋचा ।

ऋचा बच्चालाई केरकार गर्दै किन स्कुल नगएको भनेसर सोधिरहेकी छन् । फेरि देखिन्छन् चलचित्रका पात्र । कोही काममा त कोेही सार्वजनिक स्थलमा आँखा छलेर रोमान्समा । फेरी घर, गाडी, सडक उही त्रास र छटपटी । अहिले भने अवस्था अलि क्लाइमेक्सतिर पुग्छ । प्रियंकाको नाकमा रगत देखिन्छ । घर अचानक हल्लिन्छ । घरका सामान राखेका ठाउँमा हल्लिन्छन् । खस्छन् । सिसा झरेर फुट्छ । घर, अफिस, गाडी, सपिङ महल दृश्यहरू चाँडो चाँडो परिवर्तन हुन्छन् । डराएका पात्रहरूको भागदौड देखिन्छ ।

त्यसपछि धामीझांक्रीको शरण । अनि ऋचाको आवाजमा सुनिन्छ, छोराको चाहमा बच्चालाई बलि दिइयो… ।

पीडित भन्छन् मलाई भूतले तसाइरहेको छ । सुन्नेलाई त्यसमा विश्वास छैन । यही पुस २२ गते रिलिज हुने ‘चि मुसी चि’को ट्रेलरको मोटामोटी सार हो यो । यसमा छुटेको साउन्ड र सिनेमाको टाइटल मात्रै हो ।

शब्द चित्रले तपाईंलाई तर्सायो ? ट्रेलर हेरेर फेसबुक प्रयोगकर्ता प्रदिप चुँडाल आफू तर्से नतर्सेको कुरा त गर्दैनन् । तर, मन परेको बताउँछन् । उनी लेख्छन्– बाबल ट्रेलर । किप गोइङ नेपाली फल्म इन्डस्ट्री, विई सपोर्ट यु ।

अर्का फेसबुक प्रयोगकर्ता लेख्छन्– आशा छ हरर विधामा पनि हामी एक दिन योगदान दिनेछौँ ।

दर्शकले भरोसा गरेको सिनेमा राम्रो बनेको यसका कलाकारले पनि दाबी गरिरहेका छन् । ऋचा शर्मा त भन्छिन्– उनले केही वर्ष अगाडि खेलेको हरर सिनेमाको यो ‘भरपाइ’ हो । उनले खेलेकी थिइन ‘सुनकेशरी’ । राम्रो हाइप बनाएर दर्शकलाई निराश बनाएको चलचित्र थियो त्यो ।

चि मुसी चि ट्रेलर सार्वजनिक कार्यक्रममा ऋचाले सुनकेशरीबाट निराश भएका दर्शक, साथीभाइ र पत्रकारहरूका लागि क्षतिपूर्तिका रुपमा आफ्नो तर्फबाट शचि मुसी चि’ आउन लागेको बताएकी थिइन् । ‘सुनकेशरी’ रिलिजको चार वर्षपछि हरर जनरामा देखिएकी ऋचा यसपटक दर्शक तर्सनेमा ढुक्क छिन् ।

“बनाउन खोजेको यस्तो सिनेमा थियो । तर, त्यस्तो बन्यो । एउटा समयमा सुनकेशरीले मलाई एकदम नराम्ररी हल्लाइदिएको थियो । त्यसको भर्पाइ भन्दा पनि हुन्छ । टिम पनि रामो पाएँ । यही मौका जस्तो लाग्यो । अनि चि मुसी चिमा जोडिएँ,” ऋचा ‘सुनकेशरी’ले जस्तो निराश नबनाउनेमा आशावादी हुन आग्रह गरिरहेकी थिइन् ।

ऋचा जस्तै उत्साहित यो सिनेमालाई लिएर प्रियंका र बेनिशा पनि छन् । हरर सिनेमा ‘घर’मा अभिनय गरेकी बेनिशाले टिम राम्रो भएका कारण ‘चि मुसी चि’ गरेको स्पष्ट पार्दै आएकी छन् । उनी आफ्नो कामको मात्रै होइन निर्देशकद्वय मिर्ना जेम्स र यश सैनीको काम पनि आफूलाई मन परेको बताउँछिन् । उनी काम राम्रो भएको र सिनेमा राम्रो बनेकाले व्यापार पनि राम्रो हुनेमा आशावादी छन् ।

प्रियंका कार्की ‘चि मुसी चि’को टिमलाई ड्रिम टिम भन्छिन् । ट्रेलर लञ्ज कार्यक्रममा उनले आफ्नो टिमले राम्रो काम गरेको बताएकी थिइन् ।

हरर सिनेमामा दर्शक बाँध्ने सूत्र साउण्ड भएको र यसमा साउन्डको काम राम्रो भएको उनले आश्वस्त पारिन् । अघिल्ला हरर सिनेमा साउन्डमा चुकेको अनुभव गरेकी प्रिंयका ‘चि मुसी चि’ यस मामलामा उत्कृष्ट रहेको दाबी गर्छिन् ।

“मैले जति सिनेमा हेरेको छु, साउन्डमा एकदमै राम्रो काम भएको छ । यसको हकदार निर्देशक र निर्माता रहेको भन्दै उनले स्क्रिप्ट राम्रो रहेको पनि बताएकी छन् । टिम पनि राम्रो भएकाले काम राम्रो निस्किएको उनले सार्वजनिक रुपमै बताइसकेकी छन् ।

मिर्ना र यश कै कथा÷पटकथा रहेको सिनेमामामा ऋचा, प्रियंका र बेनिशासंगै आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ । नेपालमा निर्माण हुने हरर सिनेमा भन्दा ‘चि मुसी चि’ भिन्न रहेको निर्माण पक्षले बताएको छ । बालिकाले दिने दुःखको पेरिफेरीमा सिनेमाको कथा घुमेको छ । ट्रेलरको उत्तरार्धको ऋचाको संवादले बालिकाले किन दुःख दिइन् भन्ने रहस्य खोलिदिएको छ । सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन छ ।

एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति सिनेमामा रिञ्जु केसीसँगै अरुण चक्रवर्तीको लगानी रहेको छ । नेपालमा उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकको चाहना यो सिनेमाले पूरा गर्ने अपेक्षा निर्माण टिमको छ । आफूहरुले त्यही अनुसार नै स्टोरी, छायांकन र पोष्टप्रोडक्सनमा मिहिनेत गरेको अरुण बताउँछन् ।

सिनेमाले काटमारका दृश्यबिना नै दर्शमा डर पैदा गर्ने उनको भनाइ छ । ‘चि मुसी चि’ नामले सिनेमाको कथालाई न्याय गरेको अभिनेत्री कार्कीको दाबी छ ।