प्रियंका र आयुषमानलाई भूतप्रति विश्वास छ, तर छैन डर !

प्रियंका र आयुषमानलाई भूतप्रति विश्वास छ, तर छैन डर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक रात काठमाडौंको कुनै होस्टेलमा प्रियंका कार्कीसहित उनका साथिहरु मस्त निन्द्रामा थिए ।

मध्ये रातको त्यो सुनसान समय । नजिकैको बाथरूममा कसैले नल्का चलायो । प्रियंकालाई कानले केहि सुने जस्तो लाग्यो । उनले खास्सै वास्ता गरिनन् । कोल्टे फेरिन ।

एकछिनपछि झन् ठुलो ठुलो आवाजमा नल्का चलेपछि प्रियंकाको मनमा चिसो पस्यो । उनले झटपट उठेर बत्ति बालिन । डरको भावमा को हो ? भन्दै चिच्याइन ।

उनको चिच्याहटसंगै साथिहरुपनि ब्युँझिए । कसैलाईपनि बाथरूमको ढोका खोल्ने आँट आएन । अनि बिस्तारै बेड माथिको झ्यालको पर्दाबाट बाथरूम चियाए ।

बाथरूममा कोहिपनि थिएन । बस केवल मान्छेबिना चलिरहेको नल्काबाट ह्वात-ह्वात पानी बगिरहेको थियो । त्यसपछि प्रियंका र उनका साथिहरुको होस् उड्यो !

प्रियंकाले जीवनमा यस्ता घटनाहरु थुप्रै देखेकी छन् । उनि मृत आत्माहरुलाई विश्वासपनि गर्छिन । जो आफ्नो पुरा नभएका चाहनाहरु पुरा गर्न भड्किरहेका हुन्छन ।

पुष २२ देखि प्रदर्शनमा आउने सिनेमा ‘चि मुसी चि’को पत्रकार भेटघाटमा प्रियंकाले आफ्नो भूत/आत्मा अनुभवबारे मिडियासंग गफिइन ।

एकदिन फेरि होस्टेलको छतमा कसैले गट्टा खेलिरहेको आवाज सुनियो । प्रियंका र उनका साथिहरुले ध्यान दिएर आवाज सुने । कहिले ट्वाक-ट्वाक, कहिले सोहरेको र कहिले टिपेको आवाज आउन थालेपछि रातको १२ बजे सबैको होस् उड्यो !

केहि छिनपछि प्रियंका र उनका साथीहरु आँट गरेरै छत चढ्ने निर्णय गरे । डराइडराइ जब उनिहरु छतमा पुगे । त्यहाँ पाँच ओटा इट्टाबाहेक केहिपनि थिएन ।

‘मलाई यस्तो प्रेत आत्मा र नकारात्मक ऊर्जाको बारेमा विश्वास लाग्छ । संसारमा यदि भगवान हुनुहुन्छ भने उहाँको उल्टोपनि हुन्छ । तर मलाई फिटिक्कै डर लाग्दैन ।’ प्रियंका आफुले भेटेसम्म भूतसंग हात नै मिलाउथ्ये भन्छिन ।

‘मलाई लाग्छ त्यस्ता आत्मा र नकारात्मक उर्जाहरुको आफ्नो उद्येश्य हुन्छ । उनिहरु आफुले पुरा गर्न नपाएको चाहना पुरा गर्न भड्किरहेका हुन्छन । त्यसैले उनीहरुले यतिकै जो पायो त्यहिलाई क्षति पुर्याउदैनन जस्तो लाग्छ ।’

आयुषमान देशराज जोशी ममीसंग धोवीघाटको एउटा अपार्टमेन्टमा बस्थ्ये । त्यो दिन ममीले चाबी लिएर बाहिर गएकाले आयुषमान घर जान पाएका थिएनन् । त्यसैले मलपोखरी सडक किनारमा साथिसंग बाइक रोकेर बसिरहेका थिए ।

रातको बेला उनीहरुको नजर म्याक्सी लगाएर बाटोमा बसिरहेकी महिलामाथि पर्यो । उनिहरु महिला के मात्र हेर्दै थिए । एउटा ट्याक्सी सरर अगाडी बढ्यो । त्यति नै बेला त्यो महिलाले पनि बाटो काटिन । उनि ट्याक्सीको भित्र छिर्दै सडक पार गरेर एकैछिनमा पल्लोपट्टिको काठको पसलभित्र छिरिन । आयुषमान र उनको साथि हेरेको हेर्यै भए ।

‘मैले प्रत्यक्ष देखें । मेरो साथीले पनि देख्यो । अनि हामि त्यो काठको पसल तर्फ लाग्यौं । त्यहाँ पुग्दा दुई जना पुरुषहरु मात्र थिएँ । हामीले एक जना दिदी आउनु भएको थियो नि भनेर सोध्यौं । तर उनीहरुले त्यहाँ कोहि नभएको बताए । हामि त छक्क पार्यौं ।’ आयुषमान आफुले प्रत्यक्ष भूत देखेको बताउछन ।

आयुषमान आफुले भूत देखेको दावी गरेपनि प्रियंकालाई जस्तै डर नलाग्ने बताउछन । ‘धोविघाटको घटनापछि मैले त्यस कुरालाई त्यति गम्भीर रुपमा लिंइन । यस्तोपनि अनुभव गर्न पाइयो है भन्ने लाग्यो । तर मेरो साथि प्रत्येक दिन त्यहि ठाउँमा गएर त्यो तत्वलाई पछ्याउन थाल्यो । कसैले पछाडीबाट आएर कोट्याइरह्यो भने मलाई रिस उठ्छ नि । भूतलाईपनि त्यस्तै हो ।’ आयुषमान भूतको अनुभव साट्छन् ।

प्रियंकालाई धेरैपछि होस्टेलको रहस्यको बारेमा थाहा भयो । त्यस घरमा निक्कै समय अगाडी दु:खत घटना भएको रहेछ ।

‘धेरै समय अगाडी त्यो घरमा एउटा बच्चा बिरामी परेको रहेछ । त्यतिबेला बिरामीलाई घाम देखाउनु हुँदैन भन्ने चलनपनि रहेछ । धेरै दिनसम्म घाम नदेखाएर राखेको भएर उक्त बच्चाको मृत्यु भएछ । पछि उसको लास त्यहि घर मुनि गाडेको भन्ने थाहा पायौं । मलाई लाग्छ उक्त बच्चाको आत्माले आफ्नो वीस पुरा गर्नलाई चलखेल सुरु गरेको हुन् सक्छ ।’ प्रियंकाले रहस्य खोलिन ।

शुक्रबारदेखि रिलिज भएको ‘चि मुसी चि’ले यस्तै कथाहरुका रहस्य खोल्ने प्रियंका बताउछिन ।

‘सिनेमाको दृष्य राम्रो खिचेका छौं । साउण्ड वर्क राम्रो भएको छ । सिनेमाले हेरुञ्जेल बाँधेर राख्छ । दर्शकमा डर पैदा गर्न सक्छ जस्तो लाग्छ । यसमा अगाडीका सिनेमा भन्दा केहि फरक र उत्कृष्टता पाउन सक्नु हुन्छ ।’ प्रियंकाले भनिन् ।

निर्माता अरुण चक्रवर्तीले सिनेमामा एक तत्वका कारण व्यक्ति, परिवार र समाजमा पार्ने प्रभावलाई सिनेमाले कथासार बनाएको बताउछन ।

‘कुनै एक प्रेतआत्मा । जसको कारणले एउटा व्यक्ति मात्र होइन । उसको परिवार र समाजमा उक्त आत्माले पारेको प्रभाव देखाएका छौं । यो एउटा प्याकेजिङ सिनेमा बनेको छ । यसमा इन्टरटेनमेन्ट पाउनु हुनेछ ।’ चक्रवर्तीले भने ।

मर्ण जेम्स र यश सैनीले निर्देशन गरेको सिनेमामा प्रियंका र आयुषमानसंगै ऋचा शर्मा, बेनिशा हमाल, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको सिनेमामा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।