दर्शकले खोज्ने र रोज्ने सिनेमा हो ‘तिम्रो मेरो साथ’!

दर्शकले खोज्ने र रोज्ने सिनेमा हो ‘तिम्रो मेरो साथ’!

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । म्युजिक भिडियोबाट उदाएका पुष्प खड्का र कोरियन लुक्स र हकी स्वभावको छवि बनाएकी नेपालकै महंगी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले जोडी बाँधेको सिनेमा ‘तिम्रो मेरो साथ’ यतिबेला प्रचारमा छ ।

केही समय यता रिलिज भएका नेपाली सिनेमाले अपेक्षाकृत  बक्स अफिस कलेक्सन गर्न नसक्दा यो सिनेमाले राम्रो व्यापार गर्ने धेरैको विश्वास छ । सिनेमा भनेको लार्जर देन लाइफ नै हुनुपर्छ । हल पुगेका दर्शकलाई इन्टरटेन नै गराउनु पर्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर निर्माण भएकाले पनि यो चलचित्रले दर्शकको ध्यान खिच्नेमा सिनेमाको निर्माण पक्ष ढुक्क छ ।

त्यसो त आफूहरूको जोडी ‘मारुनी’ पछि दर्शकले रुचाएकै कारण पुनः एकपटक हलमा आएको पुष्प साम्राज्ञीले बताउँदै आएका छन् । उनीहरूले काम पनि पुष्प र साम्राज्ञी सहज रहेको भन्दै मिडियामै आएर एकअर्काको तारिफ गरेका छन् । सिनेमामा सामाजिक कथाबस्तुसँगै दर्शकले मनोरञ्जन खोज्ने र त्यो ‘तिम्रो मेरो साथ’मा रहेको साम्राज्ञीले बताएकी छन् । पुष्पले दर्शकले खोज्ने र रोज्ने जस्तै सिनेमा ‘तिम्रो मेरो साथ’ रहेको बताएका छन् ।

सबै आफ्नो फिल्म रिलिजको समयमा फरक छ भन्ने दाबी गरे पनि यो सिनेमा भने साँच्चै क्यारेक्टर र कथामा फरक रहेको साम्राज्ञी बाताउँछिन् । दुःख गरेर राम्रो चलचित्र बनाएको उनको दबी छ ।

हरेकको जिन्दगीमा आउने उतारचढावको कथा नै ‘तिम्रो मेरो साथ’को स्टोरी भएको पुष्पले बताएकमा छन् । प्रेमका विभिन्न रुपमध्ये एउटा रुप यो सिनेमामा देखाइएको छ । प्रेम वास्तवमा सहज नरहेको त्यही नै सिनेमामा दर्शकले देख्न पाउने उनले स्पष्ट पारे ।

प्रेम सम्झौता पनि भएको र एकले अर्कोलाई पाउन अथवा प्रेमलाई सफल बनाउन गरिने संघर्ष र सम्झौताको कथा नै ‘तिम्रो मेरो साथ’ले देखाउने कथा भएको साम्राज्ञी बताउँछिन् ।

हलमा पछिल्लो समय चलेका सिनेमा हेर्ने हो भने कमेडी वा डार्क कमेडी नै छन् । यसको अर्थ सिनेमा हेरेर दर्शक हाँस्न खोज्छन् भन्ने नै हो । यसलाई बुझेको निर्माण पक्षले ‘तिम्रो मेरो साथ’मा सन्दीप क्षेत्रीलाई पनि मुख्य कलाकारमा राखेको छ । काँचको पर्दामार्फत दर्शकलाई हँसाएर स्थापित भएका सन्दीप पछिल्ला केही वर्षयता सिनेमामा व्यस्त छन् । रुचाइएका हास्य कलाकार हुन् ।

सिनेमा प्रचारका लागि केही कसर नराख्ने पक्षमा निर्माण पक्ष छ । त्यसैले यतिबेला निर्माण पक्ष डिजिटल होस् वा फिजिकल प्रचारमा छन् ।

केही समय अगाडि मोफसल टुर गरेको ‘तिम्रो मेरो साथ’ युनिट अहिले काठमाडौं केन्द्रित प्रचारमा छ । मोफसल टुरमा अधिकांश मुख्य कलाकार सहभागी थिए । मोफसल टुरमा पाएको साथले हौसिएको सिनेमाको निर्माण युनिट त्यस्तै साथ हलमा पनि पाउने विश्वासमा छ ।

म्युजिक भिडियोका पुष्पका फ्यान, साम्राज्ञीको स्टारडम र सन्दीपको काँचको लोकप्रियताले सिनेमालाई हिट बनाउने निर्माण पक्षको विश्वास छ । मोफसल टुरमा दर्शकले देखाएको उत्साहले थप उत्साही भएको सिनेमा युनिट । उत्साही पनि किन नहोस् त निर्माण पक्ष ? मोफस टुरमा आफ्नो सिनेमाका कलाकारप्रति देखिएको क्रेज कम लोभलग्दो थिएन । दर्शकले कलाकारलाई देखाएको मायाका कारण उनीहरूले गाडीमा उभिएर हात हल्लाएर अभिवादन गर्दै हिँड्नु परेको थियो ।

पुस २९ बाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टुर पर्यटकीय नगरी पोखराबाट सुरु भएको थियो । पोखरा नेपाली सिनेमाको राम्रो बजार हो । बक्स अफिस राम्रो कलेक्सन हुने सिटी पनि हो ।

पोखरामा पत्रकारसँग भेटघाट गरेको निर्माण पक्ष त्यसपछि चितवन पुगेको थियो । जहाँ पछिल्लो समय उल्लेख्य संख्यामा नयाँ मल्टिप्लेक्स थपिनेक्रम जारी छ ।

चितवनका क्याम्पस, सिनेमा हल र महलमा दर्शकसंग साक्षात्कार गरेको टिमले त्यही चलचित्रको शीर्ष गीत पनि सार्वजनिक गर्यो । मोफसल पुगेर गीत सार्वजनिक बिरलै चलचित्रले गरेका होलान् । चितवन सिनेमाका लागि मोफसलको आकर्षक बजार हो । केही समय अगाडि रिलिज भएको चलचित्र ‘महापुरुष’को निर्माण पक्ष चितवन पुगेर प्रिमियर गरेको थियो ।

कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम चितवन पछि हेटौंडा पुगेको थियो । हेटौंडाबाट लालबन्दी पुगेर कन्सर्ट गरेको टिम त्यसपछि क्रमशः इटहरी र दमक गएको थियो ।

इटहरीमा सिनेमाको टिमले सहर परिक्रमा गर्दा होस् वा लालबन्दीको कन्सर्टमा होस् दर्शकमा कलाकारप्रति लोभलाग्दो क्रेज देखिएको थियो ।

मोफसल टुरमा दर्शकको उल्लेख्य उपस्थिति देखेका निर्देशक पौडेल त्यस्तै साथ हलमा पनि पाउनेमा आफू ढुक्क रहेको सुनाउँछन् । त्यस्तै उत्साह काठमाडौंका दर्शकमा पनि रहनेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रेमकथामा आधारित सिनेमाले राम्रो लभस्टोरी भनेको पौडेलले जानकारी दिए ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमाको ट्रेलर र गीतसंगीतले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको भन्दै त्यसले हलमा पनि निरन्तरता पाउनेमा पौडेल ढुक्क छन् ।

पुष्प, साम्राज्ञी र सन्दीपसँगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब यो सिनेमा जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउने छन् ।