जितु र साम्राज्ञी: कथाले मागेको जोडी

जितु र साम्राज्ञी: कथाले मागेको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकार सुदीप बरालले मलाई फोन गर्नु भयो । लण्डनबाट डा. कपिल रिजाल दाई नेपाल आउनु भएको रहेछ । दाईले भेट्न बोलाउनु भयो । भेटमा आफुले सिनेमा बनाउन लागेको योजनासहित कथा सुनाउने जमर्को गर्नु भयो । दाईको अनुसार पहिला कथा सुनियो । कथा राम्रो लाग्यो । ‘ह्यारी’ पात्र नौलो लाग्यो ।

कपिल दाईले ‘तिमीले यो सिनेमा खेल्नु पर्छ’ भन्नु भयो। मैलेपनि विजयले गरेको चरित्र होला भनेर हुन्छ भनिदिएँ । अलि कमेडी खालको भएकाले ।

तर, दाईले ‘ह्यारी चै तिमि हो है’ भन्नु भयो । मत अक्क न बक्क । पुर्लुक्क सुदीपलाई हेरें । सुदीपले हो अंकल भन्दै इशारा दिए । नपत्याएर होइन होला भन्दै प्रतिप्रश्न गरें । ‘दाईले यसमा जितु नेपाललाई नै राख्नु पर्छ भनेर आउनु भएको हो’ सुदीपले जवाफ दिए ।

सुदिपको जवाफले जितुको मनमा डर र उत्साह भरियो । अन्तिम पटक जितुले सिनेमामा आफ्नो उपस्थितिबारे प्रश्न गरे । ‘होर दाई गर्न सकिन्छ त ? भावुक खालको चरित्र रहेछ ? मैले प्रश्न गर्न नपाउदै दाईले ‘तपाई सक्नु हुन्छ तपाईलाई नै राख्ने हो’ भन्दै हौसला दिनु भयो । ‘एउटा निर्देशकले जसलाईपनि हिरो बनाउन सक्छ । मेरो कथामा तपाई फिट हुनुहुन्छ ।’

‘हुन्छ दाई राम्रो काम गर्न पाए त मपनि तयार छु ।’ मैले भने । अनि हिरोइन चै को ? भन्दा साम्राज्ञी भन्नु भयो । ‘होइन होला, खेल्नु हुन्छ र ?’ भन्या जस्तै भयो ।’ जितुले जिस्किंदै भने ।

माघ २० देखि प्रदर्शनमा आउने ‘ह्यारीकी प्यारी’मा जितुले आफ्नो २५ वर्षीय सिनेमा करिअरमा पहिलो पटक प्रमुख भूमिकामा अभिनय गरेका छन् । उनि हरिप्रसाद चौलागाईं उर्फ ‘ह्यारी’को चरित्रमा देखिएका छन् ।

जितुको जोडी बनेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेकी छन् । साथै सिनेमामा अभिनेता विजय बराललेपनि मुख्य भूमिका निर्वाह गरेका छन् । जो ‘ह्यारी’को काकाको भूमिकामा छन् ।

जितुको काँधमा अहिले सिनेमा बोक्नु पर्ने जिम्मेवारी छ । कथाको नेतृत्व गर्ने पात्रको रुपमा अभिनय गर्दा जितु आफैले जिम्मेवारी महशुस गरेका छन् ।

‘मुख्य सहायक पात्रमा अभिनय गर्दा दृश्यहरुपनि कम हुन्थ्यो । छायांकनमा कम समय दिए पुग्थ्यो । लिडमा अभिनय गर्दा छायांकनको लागि बढी समय दिनु पर्ने । अलि राम्रो गर्न पाएँ हुनी भन्ने लाग्ने। स्क्रिप्ट र क्यामरातिर ध्यान जाँदो रहेछ । जिम्मेवारी बोध हुँदो रहेछ ।’ जितु आफ्नो अनुभव साट्छ्न ।

‘झ्याम्मै गाना आफूतिर मात्रै खिचिरहदा कता कता हिरै भैएछु जस्तो महशुसपनि हुने । पहिले हामि चार-पाँच जना मेजर आर्टिस्ट भएर गीत खिच्दा दृश्य सिमित हुन्थ्यो । पहिले चाँडै सकिदा ल ! सक्किहाल्यो भन्ने हुन्थ्यो । अहिले चाइ कस्तो नसिध्या जस्तो हुने ।’

आफ्नो छवि एउटा हास्य कलाकारको रुपमा परिचित भएपनि ‘ह्यारीकी प्यारी’मा पात्रले भन्दामा स्थितिले हँसाउने जितु बताउछन । ‘अघिल्ला सिनेमामा जस्तो यसमा मलाई कमेडी गराइएको छैन । विजयलाईपनि छैन । पात्रहरु भावुक भैरहँदापनि उनिहरुको स्थितिले दर्शकमा हाँसो ल्याउछ । यो अलि फरक खालको कमेडी छ ।’ जितुले भने ।

जितु सिनेमाको कन्टेन्टले आफुलाई हिरो बनाएको बताउछन । ‘सिनेमाको कथा नै बलियो छ । नयाँ छ । यो सिनेमाको कथा मलाई हेरेर लेखिएको थिएन । लेखकले सिनेमा लेखिसकेपछि पात्र चयनको क्रममा म र साम्राज्ञीलाई उपयुक्त मानिएको हो । हाम्रो कथाले म र साम्राज्ञी जस्तैनै व्यक्तित्वको जोडी खोज्छ । आशा गरौँ दर्शकले यसको र उसको भन्दापनि आफ्नो सिनेमा सम्झेर माया गरिदिनु हुनेछ । र प्रतिक्रियाको लागि उत्साहित छु म ।’ जितुले आशावादी भावमा भने ।

पटकथाकार सुदीप बरालपनि कथाको पात्रसंग मिल्ने कलाकार जितु र साम्राज्ञी रहेको बताउछन ।

‘हामीले कथा बिस्तार गर्दादेखि नै गाउँले शहरिया युवा-युवतीलाई मुख्य पात्र बनाएका थियौं । फरक भूगोल, सोच, जीवनशैली र फरक शारीरिक बनावट भएका जोडीको परिकल्पना गरेर बनाइएको हो । यसमा प्रेम छ । रोमान्स छ । र दुई बीचको हास्य दृश्यहरुपनि दर्शकले पाउनु हुनेछ ।’ सुदीपले भने ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह कथाले निर्माण गरिदिएको जोडी र कन्टेन्ट सिनेमाको बलियो पक्ष मान्छिन ।

‘जितु दाई र मेरो केमेस्ट्री सुन्दा अर्कै सुनिएपनि सिनेमामा सुन्दर देखिएको छ । आशा छ दर्शकले मन पराइदिनु हुन्छ । र सिनेमा कलाकारले गर्दा चल्ने होइन कन्टेन्टले चल्छ । यो सिनेमाको कन्टेन्टपनि बलियो छ ।’ साम्राज्ञी आशावादी देखिइन ।

सिनेमाले दुई फरक सोच भएका गाउँले युवक र शहरिया युवतीको उतारचढावको कथा भन्छ । सिनेमामा जितु, साम्राज्ञी र विजयसंगै लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।