कस्तो बन्ला ‘पशुपति प्रसाद २ – भष्मे डन’ ?

कस्तो बन्ला ‘पशुपति प्रसाद २ – भष्मे डन’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वि.सं. २०७२ सालमा रिलिज ‘पशुपति प्रसाद’ले खगेन्द्र लामिछानेलाई एकाएक ठुलो दर्शक माँझ परिचित बनाइदियो । उनि अभिनय र लेखन मार्फत वर्षकै सरप्राइज सावित भए ।

हुनत त्यसअघिको ‘टलकजंग भर्सेस टुल्के’बाटै खगेन्द्रले अभिनय र लेखनमा आफ्नो क्षमता देखाइसकेका थिए । तर ‘पशुपति प्रसाद’ मार्फत उनको कलाकारिता ठुलो दर्शकसम्म पुग्यो ।

‘धनपति’, ‘डमरुको डण्डीबियो’ र ‘जय भोले’मा पनि उनले लेखन र अभिनय गरे । अघिल्ला दुईको तुलनामा यी सिनेमाबाट उनले व्यक्तिगत रुपमा त्यति उचाई नाप्न सकेनन् ।

त्यसपछि लेखन र अभिनयसंगै खगेन्द्रले निर्देशकीय यात्रा थालनी गरे । उनि निर्देशित ‘पानीफोटो’ यसै वर्ष प्रदर्शनमा आयो । समिक्षात्मक रुपमा चर्चा बटुलेपनि दर्शकको साथ पाएन ।

अब भने खगेन्द्र ७ वर्ष अगाडी रिलिज भएको ‘पशुपति प्रसाद’को सिक्वेल ‘पशुपति प्रसाद २ – भष्मे डन’को निर्माणमा जुटेका छन् । यसपटक खगेन्द्रले निर्माण र लेखनको पाटो मात्र सम्हाल्ने छन् ।

आइतबार राजधानीमा आयोजित घोषणा कार्यक्रममा बोल्दै खगेन्द्रले ‘भष्मे डन’ लेखनको प्रक्रिया सुनाए ।

‘पशुपति प्रसादको सिक्वेल बनाउनेबारे दीपेन्द्र दाई र मेरो बेलाबखत कुरा भैरहन्थ्यो । यसलाई कसरी अर्थपूर्ण बनाउने भन्नेबारे छलफल चल्थ्यो । समयलेपनि यतिबेला बनाइयोस् भनेर अड्कल गर्छ होला । त्यसकारण लामो समय लाग्यो । दर्शकको मन जित्ने सिनेमा बनाउन हाम्रो टिमको प्रयास रहनेछ ।’ खगेन्द्रले सबैलाई सहयोग गरिदिन आग्रह गरे ।

घोषणा कार्यक्रममा ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्ष पुगेको अवसरमा केकपनि काटिएको थियो । उक्त सिनेमाकी अभिनेत्री वर्षा सिवाकोटीले ‘भष्मे डन’लाई सफलताको शुभकामना दिंदै यो टिमसंग काम गर्ने चाहना व्यक्त गरिन ।

‘पशुपति प्रसाद सिनेमा सबैको लागि विशेष छ । मेरो लागि अझ विशेष । आजको दिनसम्मपनि धेरै जनाले मलाई ‘बुनू’ भनेर चिन्नु हुन्छ । उक्त चरित्रको लागि म आभारी छु । यो टिमसंग अझैपनि काम गर्न मन छ । उहाँहरुसंग सहकार्यको लागि आशावादी छु । अनि पशुपति प्रसाद २: भष्मे डन टिमलाई शुभकामना दिन चाहन्छु ।’ वर्षाले भनिन ।

‘पशुपति प्रसाद’ शृंखलामा पहिलो पटक जोडिएकी अभिनेत्री स्वस्तिमा खड्का सिनेमालाई लिएर उत्साहित देखिइन ।

‘रिलिजको समय थियो त्यतिबेला । सिनेमाको समिक्षा निक्कै राम्रो आएको थियो । समयपनि त्यस्तै जुर्यो, सिनेमा हेर्नको लागि साथि नै पाइन् । अनि एक्लै हल पुगेँ । अन्तिम पङ्क्तिको बिच्च सिटमा म मात्र महिला थिएँ । दुवै तर्फ पुरुष नै पुरुष ।’ स्वस्तिमाले सिनेमा हेरेको क्षण सम्झिइन ।

‘अहिलेपनि मेरो धेरै साथिहरुले आफ्नो मन पर्ने नेपाली सिनेमाको नाम लिंदा ‘पशुपति प्रसाद’ नै भन्नु हुन्छ । दर्शक माँझ लोकप्रिय सिनेमाको सिक्वेलमा जोडिन पाउँदा एकदमै खुसि लागेको छ । मेरो मनपर्ने मध्येको एक विपिन दाईसंगको सहकार्यले गर्दापनि विशेष छ यो सिनेमा । दीपेन्द्र र खगेन्द्र दाईसंग टिमअप हुन पाउनु नै मेरो लागि राम्रो कुरा हो ।’ स्वस्तिमाले उत्साहित हुँदै भनिन् ।

कलाकार रविन्द्र सिंह बानियाँले लामो समयको छलफलपछि ‘पशुपति प्रसाद २’ बनाउने निर्णयमा पुगेको र ‘पशुपति प्रसाद’ जतिकै उत्कृष्ट बनाउन मिहेनत गर्न बताए ।

निर्देशक दीपेन्द्र के खनालले पशुपतिनाथ मन्दिर रहँदासम्म पशुपति प्रसाद जिवन्त रहने बताए ।

‘पशुपति प्रसाद मेरो लागि विशेष सिनेमा हो । यो सधै रहिरहनेछ । जबसम्म पशुपति मन्दिर रहन्छ तबसम्म पशुपति प्रसाद जिवन्त रहन्छ जस्तो लाग्छ । मेरो जीवनमापनि यसको छुट्टै महत्व छ । अहिलेसम्म दर्शकले सिनेमालाई माया दिइरहनु भएको छ ।’ निर्देशक खनालले दर्शकलाई धन्यवाद दिंदै भने ।

‘पशुपति प्रसाद रिलिजको ७ वर्ष पुगेको अवसरमा यसको सिक्वेलको रुपमा भष्मे डनलाई अगाडी बढाउने जमर्को गरेका छौं । हामीलाई स्क्रिप्टमा विश्वास छ । यो स्क्रिप्टमा एउटा राम्रो कथा भन्न सक्छौं भन्ने लागेर अगाडी बढेका छौं ।’ खनाल स्क्रिप्टप्रति आशावादी देखिए ।

फागुन मध्यदेखि छायांकनमा जाने यो सिनेमा २०८० को दशैँमा रिलिज हुँदैछ ।

सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ ।

कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ ।

निर्माण कम्पनि टुकी आर्टस प्रालिले ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’ जस्ता मौलिक सिनेमा निर्माण गरिसकेको छ ।