‘छक्का पञ्जा’सँगको जितुको त्यो सम्बन्धदेखि ‘ह्यारीकी प्यारी’को हिरोसम्म

‘छक्का पञ्जा’सँगको जितुको त्यो सम्बन्धदेखि ‘ह्यारीकी प्यारी’को हिरोसम्म

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । काठमाडौंमा सिनेमा ‘ह्यारीकी प्यारी’को ट्रेलर लञ्च कार्यक्रम थियो । निर्देशकसहित सिनेमामा मुख्य कालाकार कार्यक्रममा उपस्थित थिए । यो सिनेमाका मुख्य कलाकार हुन्– जितु नेपाल र साम्राज्ञी आरएल शाह । कार्यक्रममा जितु नेपाल उत्साही सुनिए । जति उत्साही थिए त्यति नै प्रतिक्षित पनि । सिनेमाको प्रतिक्रिया दर्शकबाट कस्तो आउँछ भन्नेमा उनी व्यग्र प्रतिक्षा गरिरहेका छन् । कारण उनकै शब्दमा यो उनको सिनेमा करिअरको परीक्षा हो । सिनेमामा उनलाई हेर्न चाहेको भए सिनेमा दर्शकले मन पराउनेमा उनी ढुक्क छन् । त्यसैले उनी यसलाई आफ्नो सिनेमा करिअरको ‘गर वा मर’को रुपमा लिएका छन् ।

हुन पनि हो, आफ्नो २५ वर्षीय हास्य व्यंग्य करिअरमा पहिलो पटक जितु सिनेमाको लिड रोल गरिरहेका छन् । सिनेमा उनको काँधमा छ । त्यसैले उनी यो चलचित्रलाई अग्नि परीक्षाका रूपमा लिइरहेका छन् ।

हास्य कलाकारको रूपमा दर्शक माँझ परिचित जितुले ‘ह्यारी की प्यारी’बाट आफ्नो हास्य कलाकारको छविमा परिवर्तन आउने अपेक्षा गरेका छन् । गम्भीर भूमिकामा पनि फिट रहने सन्देश यो सिनेमाले दिनेमा उनी ढुक्क छन् ।

‘२०४९ सालदेखि म हास्य कलाकारितामा निरन्तर छु । जिन्दगी परिक्षा रहेछ । ट्वाक्क–टुक्कमा सानोतिनो रोल गरियो । सँगालोहुँदै मुक्तिमा सचिव भएँ । दर्पण छाया खेलेँ, दुई किनारा खेलेँ, छ एकान छदेखि सहकार्य गरेर साथीहरुसँग गएँ,’ उनले भने, “बिचमा मुन्द्रे भएँ, गिताञ्जली चलाएँ । फेरि अहिले ह्यारी भएँ । यो जीवन परीक्षा ।’

हुन पनि हो हास्य विधामा लामो समय काम गरे पनि उनले थुप्रै चलचित्रमा काम गरे । उनले काम गरेका थुप्रै चलचित्र सुपरहिट पनि भएन । नेपाली चलचित्रको इतिहासमा धेरै कमाइ गर्ने रेकर्ड पनि बनाए । तर ती चलचित्रमा जितु लिड रोलमा थिएनन् । स्पष्ट भन्दा नायकको वरिपरी घुम्ने नायकको साथीको भूमिकामा थिए । सर्पोटिभ क्यारेक्टरमा थिए ।

‘फेरि परीक्षामा छु । ह्यारीकी प्यारीमा म हास्यकलाकारको रुपमा छैन । यहाँ म कम्फर्ट जोनदेखि बाहिर रहेर अभिनय गरेको छु,’ उनले अगाडि थपे, ‘भोलिका दिनमा मैले यस्तो सिनेमा सायदै पाउने छु । यो मेरो जीवनको कोसेढुंगा नै हो ।’

‘छक्का पञ्जा’ सिरिजमा जितुले दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेसँग काम गरे । उनीहरूको एउटा छुट्टै टिम थियो । यो टिमले बनाएको चलचित्र हेर्न हलमा दर्शक ओइरिन्थे । त्यसैले यो टिमले जति चलचित्र बनाए गज्जवले चले । बक्स अफिसमा पैसा छापे । वितरकका अनुसार ‘छक्का पञ्जा’ले १६ करोड, ‘छक्का पञ्जा–२’ले १५ करोड र ‘छक्का पञ्जा–३’ले २० करोडको ग्रस कलेक्सन गर्यो । यसमा पक्कै पनि दीपक (मुख्य कलाकार) र दीपाश्री (निर्देशक)को तहमै जितुको भूमिका त अवश्य छैन । तर नजरअन्दाज गर्ने पात्र भने पक्कै पनि होइनन् ।

यही बीचमा जितुले ‘मुन्द्रेको कमेडी क्लब’ नामक टेलिभिजन शो चलाए । दीपक दीपाको टिम नयाँ चलचित्रको तयारीमा लाग्यो । जितुले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा दीपाश्री निरौला थिइन् । तर जब मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा अचानक दीपाश्रीको ठाउँमा करिष्मा मानन्धरले इन्ट्रि मारिन्, जितुको सम्बन्ध दीपाश्रीसँग चिसियो । दीपासँग मात्रै होइन यो टिमको नेतृत्व गरेका दीपकलाई पनि यो चित्त बुझेन । कारण थियो यो टिमभित्र केही काम गर्दा सल्लाह गर्ने चलन थियो । जितुले यो पटक सल्लाह गरेनन् । दीपाश्रीलाई अघिल्लो दिन साँझ मात्रै ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तन भयो तपाईंले आउनु पर्दैन भन्ने खबर गरे । यो निर्णयपछि जितुसँग दीपक–दीपा र जितुको सम्बन्ध नराम्रोसँग चिसियो ।

७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजन सुरु हुँदा उक्त शोमा अध्यक्ष रहेकी दीपाश्रीको ठाउँमा जितुले नायिका करिष्मा मानन्धरलाई रिप्लेस गरेका थिए । यसैले उनीहरुबीच दूरी खडा गरिदिएको थियो ।

दीपक–दीपाको टिमबाट जितु आउट भएका समाचार आए । दीपक–दीपाले बनाउने आगामी चलचित्रमा जितुले खेल्न नपाउने कुरा आए । जितुले आफूले हतारमा सल्लाह नै नगरी निर्णय लिँदा गल्ती गरेको स्वीकार गरे । दीपकले पनि सल्लाह गरेको भए राम्रो हुन्थ्यो भने ।

महानायक राजेश हमालबारे बोल्दा दीपाश्रीले दर्शककको चर्को आलोचना खेप्नु परेपछि ‘मुन्द्रेको कमेडी क्लब’मा पुनः राख्दा शोले नै गाली खाने त्रासले उनको ठाउँमा करिष्मालाई भित्राइएको प्रष्टै थियो । दीपाश्रीले महनायकका विषयमा आफ्नो अभिव्यक्ति दिँदा उनलाई दर्शकले गाली गरेका थिए । त्यसमा उनले पटकपटक माफि पनि मागेकी थिइन् । तर, उक्त विषयमा जोडेर उनलाई अझै पनि दर्शकले गाली गरिरहेकै हुन्छन् ।

त्यसपछि दीपकले सबैसँग सधैँ सहकार्य हुन सक्छ भन्ने नरहेको प्रतिक्रिया दिए । नभन्दै पछिला केही चलचित्रमा काम गरेर बिचमा छुटेका निर्मल शर्मा, शिवहरि पौडेल समेटिदा ‘छक्का पञ्जा–४’मा जितु अटाएनन् ।

‘छक्का पञ्जा’मा काम गरिरहँदा जितु, केदार घिमिरेलाई थुप्रै चलचित्रका लागि अफर आउँथे । दीपक–दीपालाई सहकार्यको अफर त हुने नै भयो । तर, जितुले फिल्म खेलेनन् । ‘शत्रुगते’मा भने दीपक–दीपाश्रीले काम गरे ।

दीपक–दीपाको टिमबाट आफू करिब–करिब आउट भएको बुझे पछि जितले ‘ह्यारीकी प्यारी’का लागि आएको अफर स्वीकार गरे । ‘छक्का पञ्जा’ टिममा मोटामोटी सहमति के थियो भने अरुको ब्यानरको चलचित्र नगर्ने । आफ्नोभन्दा अरुको चलचित्रमा काम नगर्ने । यो समूहमै नरहे पछि के र कसका लागि पर्खिनु थियो र । लिड रोलका लागि आएको अफर उनले हुन्छ बन्दिए । रिलिजको तयारीमा रहेको चलचित्र यही हो ।

रमाइलो कुरा त के भने ‘छक्का पञ्जा’ टिमबाट जितु चाहेर भनौं या नचाहेर अलग भए । तर, जितु, दीपक र दीपाश्री कयौं कार्यक्रममा सँगै हुन्छन् । जित त दीपकको घरमै पनि पुगेका छन् । पारिवारिक गफगाफ पनि हुन्छ । तर सिनेमाको गफ खासै हुँदैन । ‘छक्का पञ्जा’को मुहूर्तमा जितु शुभकामना दिन मुहूतस्थलमै पुगे । फोटो खिचे । सुभकामना दिए । बोलचाल बन्दै होइन तर सँगै काम भने सिनेमामा गरेका छैनन् । उनीहरुको यो अनौठो सम्बन्धले दीपक–दीपाका अन्य सिनेमामा जितु इन हुने सम्भावना प्रवल रहेको अनुमान भने धेरैले लगाएका छन् ।

आफूले सधैँ दीपकाराज गिरी र दीपाश्री निरौलाबाट साथ सहयोग पाएको बताउने जितु चलचित्रमा सानोतिनो भूमिकामा टाक्कटुक्क देखिँदै आएकोमा दीपक–दीपाकै कारण आफू चलचित्रमा करिब करिब नायककै रुपमा अवसर पाएको बताउनृ गरेका छन् । त्यसैले सधैँ आफू दीपक–दीपाप्रति कृतज्ञ रहेको पनि बताउँदै आएका छन् ।

जितुले दीपक–दीपासँग ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’का तीनवटा सिरिज र ‘६ माया छपक्कै’मा संयुक्त रुपमा काम गरेका छन् । यो टिम नेपाली सिने नगरीमा रुचाइएको टिम हो । भलै अहिले जितु यो टिम बाहिर छन् । जितुको ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदै छ भने ‘छक्का पञ्जा–४’ फागुन १९ गते प्रदर्शनमा आउने छ ।