सिद्धार्थ र कियारा विवाह बन्धनमा बाँधिए

सिद्धार्थ र कियारा विवाह बन्धनमा बाँधिए

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । मंगलबार जैसलमेरको सूर्यगढ प्यालेसमा उनीहरुले अग्निलाई साक्षी राखेर विवाह गरेका हुन् ।

सिनेमा ‘शेरशाह’बाट सुरु भएको प्रेम सम्बन्धलाई उनीहरुले श्रीमान्-श्रीमतीको रुपमा परिणत गर्दै जीवनभर साथ रहने वाचा गरेका दुवैले विवाहका तस्विरहरु आ-आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विवाहको तस्विरमा कियाराले पिंक कलरको लेहंगा पहिरिएकी छन् भने सिद्धार्थ मल्होत्राले गोल्डन शेरवानीमा सजिएका छन् ।

विवाहको मण्डपमा खिचिएका तीनवटा तस्विरमध्ये पहिलोमा दुवै एकअर्कालाई नमस्कार गर्दै देखिएका छन् । त्यस्तै, दोस्रोमा एकअर्काको हात समाएर दुवै प्रफुलित मुद्रामा छन् भने तेस्रो तस्विरमा सिद्धार्थलाई कियाराले गालामा चुम्बन गरेको देख्न सकिन्छ ।

सिद्धार्थ विवाहको तस्विर पोस्ट्याउँदै लेख्छन्, ‘अब हाम्रो स्थायी बुकिङ भैसकेको छ । हाम्रो आगामी यात्राका लागि तपाईंहरुको माया र आर्शीवाद चाहन्छौं ।’ उनीहरुको विवाहमा सहभागी हुनका लागि कयौं सेलिब्रेटीहरु पुगेका थिए । केही दिनमा यो जोडीले मुम्बईमा रिसेप्सन पार्टीको आयोजना गर्दैछ, जहाँ बलिउडकर्मीदेखि राजनीतिज्ञसम्मको उपस्थिति रहने भारतीय मिडियाले उल्लेख गरेका छन् ।