‘फूलबारी’की माली शिल्पा मास्के

‘फूलबारी’की माली शिल्पा मास्के

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘फूलबारी’मा अन्तिम समयमा जोडिने कलाकार शिल्पा मास्के थिइन । अन्य मुख्य कलाकारहरु तय भैसकेका थिए ।

विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, अनुपम शर्मा, गौमाया गुरुङ जस्ता कलाकारले बलियो लाइनअप तयार भैसकेको समयमा शिल्पाको प्रवेशले सुनमा सुगन्ध थपेको थियो ।

शिल्पा पछिल्लो समयकी सम्भावना बोकेकी कलाकार हुन् । त्यसैले उनको प्रवेशले सिनेमाले थप चर्चा कमायो । ट्रेलरमा भने शिल्पा केहि दृश्यमा मात्र अटाइन । तर प्रचारमा उनले टिमलाई निक्कै साथ दिइरहेकी छन् । मुख्य कलाकार प्रियंका कार्कीसंगै शिल्पा कहिले मोफसल पुग्छिन । कहिले राजधानीका बिभिन्न संचार माध्यममा व्यस्त हुन्छिन ।

सिनेमाको बारेमा बोल्दै शिल्पा आफ्नो भूमिका छोटो भएपनि महत्वपूर्ण रहेको बताउछिन । ‘म आफैंपनि अन्तिम समयमा सिनेमा जोडिएको कलाकार । मेरो भूमिकालाई लिएर धेरै आशापनि नगर्नु होला । मेरो दृश्य कम छ । तर मेरो आगमनले कथामा थुप्रै अर्थ राख्छ । जस्तो कि मलाई फूलबारीको माली सम्झिदा हुन्छ ।’ आफ्नो पात्र विशेष रहेकाले शिल्पाले अरु कुरा खोल्न मानिनन् । उनि भन्छिन, ‘मेरो पात्र एक किसिमको सरप्राइज जस्तोपनि हो । त्यसैले हलमै गएर हेर्दा अझ मज्जा आउला ।’

२०७५ सालमा रिलिज भएको सिनेमा ‘द ब्रेकअप’बाट अभिनय  थालनी गरेकी शिल्पा मास्के ‘फूलबारी’ले सफलता पाउनेमा आशावादी देखिएकी छन् । उसो त शिल्पाका यसअघिका सिनेमाले बक्सअफिस सफलता हाँसिल नगरेकाले उनको लागि ‘फूलबारी’ चल्न आवश्यक छ ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित सिनेमामा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।