बलिउड कलाकार तथा निर्देशक सतीश कौशिकको निधन

बलिउड कलाकार तथा निर्देशक सतीश कौशिकको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । १३ अप्रिल १९६७ मा हरियाणाको महेन्द्रगढमा जन्मिएका सतीशको सिनेमा यात्रा उतारचढाव पूर्ण रह्यो ।

नेशनल स्कूल अफ ड्रामा र सिनेमा एन्ड टेलिभिजन इन्स्टिट्यूट अफ इन्डियामा अध्ययन गरेका उनले आफ्नो करिअरका लागि निकै संघर्ष गरेका थिए । १९८० देखि सिनेमामा संघर्ष सुरु गरेका उनले सन् १९८७ मा रिलिज भएको सिनेमा ‘मिस्टर इन्डिया’बाट सफलता पाएका हुन् ।

बलिउड अभिनेता तथा साथी अनुपम खेरले सतीशको निधनको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘जान्दछु, मुत्यु नै यो दुनियाँको अन्तिम सत्य हो । तर, यो कुरा म जीवित रहँदै मेरो जिग्री साथीको बारेमा लेख्छु भन्ने सोचेको थिइनँ । ४५ वर्षको दोस्तीमा अचानक पूर्णविराम । जिन्दगी तिमी बिना कहिल्यै पहिला जस्तो हुने छैन ।’

सतीशको अभिनयभन्दा निर्देशनमा रुचि थियो । सन् १९८३ मा शेखर कपूरको असिस्टेन्ट डाइरेक्टरको रुपमा उनले सिनेमा ‘मासूम’मा काम गरेका थिए । उनले कयौं यादगार र सानदार सिनेमाको निर्देशन समेत गरेका छन् । उनले निर्देशकको रुपमा ‘रूप की रानी, चोरों का राजा’बाट डेब्यू गरेका थिए । यो त्यसबेलाको बलिउडकै सबैभन्दा महंगो सिनेमा थियो, जसको निर्माता बोनी कपूर थिए ।

उनले ‘दीवाना मस्ताना’, ‘राम लखन’, ‘दुल्हन हम ले जाएंगे’, ‘उडता पञ्जाब’, ‘स्वर्ग’ लगायतका सय बढी सिनेमामा अभिनय गरेका छन् । सतीशले ‘तेरे नाम’, ‘कागज’, ‘हम आपके दिल में रहते हैं’, ‘कर्ज’, ‘मुझे कुछ कहना है’ जस्ता सफल सिनेमाको निर्देशन गरिसकेका छन् । उनी चाँडै ‘कागज २’ निर्देशन गर्ने तयारीमा थिए । उनी निर्देशनमा जति सक्षम थिए, अभिनयमा पनि उतिक्कै अब्बल थिए ।