‘बहाव’को कथा अनुसार नै चरित्र पनि छनोट गरेका छौं : श्रीधर पौडेल

‘बहाव’को कथा अनुसार नै चरित्र पनि छनोट गरेका छौं : श्रीधर पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय सञ्चारकर्मबाट सिनेमा लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामो बन्दै गईरहेको छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । सिनेमा ‘गोपी’मार्फत निर्माणमा हात हालेका श्रीधरको दोस्रो सिनेमा ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिजको तयारीमा छ ।

श्रीधरले निर्माण गरेको सिनेमा ‘गोपी’ नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त गरिसकेको छ । पहिलो सिनेमा निर्माणताका आफूले सिकेका कुरालाई सिनेमा ‘बहाव’मा प्रस्तुत गरेको उनी बताउँछन् । ‘सिनेमाको महत्वपूर्ण पाटो त्यसको कथा हो । ‘बहाव’को कथा अनुसार नै चरित्र पनि छनोट गरेका छौं’, उनी भन्छन् ।

निर्माता श्रीधरले एबीसी टेलिभिजन, नयाँपत्रिका, कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र शुक्रबार साप्ताहिकलगायतका विभिन्न पत्रपत्रिकामा फोटोपत्रकारिता विधामा लामो अनुभव संगालिसकेका छन् । उनले करिब सय बढी नेपाली सिनेमाको पोस्टर फोटोग्राफी पनि गरिसकेका छन् ।

सिनेमा ‘बहाव’ले ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई प्रमुख विषय बनाएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भुमिका रहेको सिनेमामा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्माता श्रीधरका अनुसार लकडाउनको समयमा निर्देशक कँडेलले उनलाई सिनेमाको कथा दिएका थिए ।

‘स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकि मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यहीकारण बहावको कथाले मलाई छोयो’, उनले भने, ‘सिनेमामा हामीले सुरक्षालाई अहिलेसम्मका सिनेमाभन्दा केही फरक रुपमा प्रस्तुत गरेका छौं । उनको प्रेमी, विद्रोही र पागलपन भावले दर्शकलाई प्रभावित पार्नेमा ढुक्क छु निर्माता पौडेलले भने ।

सिनेमा छायांकनका लागि चितवन जाने तयारीमा भैरहँदा श्रीधर अस्वस्थ भए । आफू अस्वस्थ भए पनि उनले आफ्नो कारण सिनेमाको काम रोक्न चाहेनन् । उनले निर्देशक प्रमोदलाई पूर्ण विश्वास गरेर सबै कामको जिम्मेवारी दिएका थिए । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा सिनेमा निर्माण भएको हो ।

सिनेमामा सुरक्षा र कमलका अलवा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको सिनेमामा सज्जा चौलागाईको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन तथा मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

सिनेमामा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।