हिराले साँच्चै आत्महत्या नै गरिन् ?

हिराले साँच्चै आत्महत्या नै गरिन् ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उम्दा अभिनेत्री हुन् – सुरक्षा पन्त । अभिनयमा कुशलता राम्रैसँग प्रमाणित गरिसकेकी छन् उनले । उनै सुरक्षा मुख्य भूमिकामा रहेको सिनेमा ‘बुलाकी’ नयाँ वर्षको अवसर पारेर यही वैशाख १ गते अल नेपाल रिलिज हुँदैछ ।

‘बुलाकी’ त्यही बेलादेखि राम्रो चर्चामा छ जतिबेला यसको फर्ष्टलुक पोस्टर सार्वजनिक भयो । पश्चिमको सुदूर पहाडी स्थानीय महिलाको भेषमा पोस्टरमा देखिएकी सुरक्षा (हिरा)को गेटअप दर्शकले रुचाएका थिए । चर्चाको कारण पनि यही नै हो । जसरी स्वस्तिमा खड्काको सिनेमा ‘चिसो मान्छे’मा उनको गेटअपले चर्चा पाएको यसको पनि करिब अवस्था उस्तै रह्यो । तर, तुलनात्मक रुपमा त्यही उचाइमा यो सिनेमाको हाइप भने छैन ।

ट्रेलर बोले अनुसार सन्तान नजन्माउँदाको पीडा सिनेमाको मुख्य कथा हो । विवाह भइसकेको छ । दम्पत्ती स्वयम र परिवार सन्तानको व्यग्र प्रतीक्षामा छन् । तर, सन्तान जन्मिरहेको छैन । दोष कसको हो ? सासु छोरो होइन बुहारीमा कमजोरी रहेको औंल्याइरहेकी छन् । श्रीमान् पनि आमाकै बोलीमा लोली मिलाइरहेका छन् । बुहारी (हिरा) बिलखबन्दमा परेकी छन् । श्रीमानले समेत साथ नदिए पछि गर्ने के उनी दोधारमा छिन् ।

ठिक त्यही समय गाउँकै एक युवाको नजर उनमा सुरक्षामा पर्छ । उनले हिरालाई भेट्न थाल्छ । माया गर्छु भन्छ । जिन्दगीभर सुखमा राख्छु भन्छ । माया गर्न थाल्छ । घरमा श्रीमान र सासु आमाको रातदिनको टोकसो उता युवकको प्रेम र जीवनभर मायाले राख्ने आश्वासन । अर्को विलखबन्धमा हिरा पर्छिन् । घरमै कसरी बसौं ? रातदिन सन्तानको विषयलाई लिएर बाँझी भएको आरोप खेप्नु परेको छ ।

युवकसँग नयाँ जिन्दगी सुरु गरौँ समाजको डर । होइन नगरौं घरकै मान्छेको हेपाइ सहेर कति बसौँ ? अर्को संसय फेरि यस्तो माया गर्ने मान्छे पटक-पटक पाइएला ? एकारितर लगातारको टोकसो र तिरस्कार अर्कातर्फ अनपेक्षित माया । त्यसपछि हिराले निर्णय लिन्छिन्, खुसी दिन नसक्ने परिवार त्याग्छु र नयाँ घरबार गर्छु । जब हिराले नयाँ निर्णय लिन्छिन् । घरमा खैलाबैला सुरु हुन्छ । इज्जत गएको महसुस गर्छ ।

अहिले पनि गाउँ समाजमा एउटा पुरानै प्रचलन छ । आफ्नी श्रीमतीलाई अर्कोले लगेपछि जारी उठाउने । श्रीमती अर्कैले लगेपछि जारी उठाउने चाँजोपाँजो सुरु हुन्छ । तर, जब आफ्नी श्रीमती देख्छ त्यसपछि उसले जारी उठाउने भन्दा पनि बदला लिन खोज्छ ।

भय र तनावरहित नयाँ जिन्दगी जिउँछुभन्दा पनि सम्भव नदेखेपछि हिराले नयाँ निर्णय लिन्छन् । जुन निर्णय सही हो गलत स्वयम उनमै पनि संशय छ । गलामा पासो लगाउने तयारी गर्दैगर्दा ट्रेलर सकिन्छ । हिराले पासो लागेर आत्महत्या गर्छिन् वा गर्दिनन् त्यो रहस्य भने सिनेमाका अहिलेसम्मका प्रचार सामग्रीबाट खुलेको छैन ।

नि:सन्तान दम्पतीमा केन्द्रित कथा हो वा जारी प्रथामा ? त्यसको रहस्य वैशाख १ मै उद्घाटित होला । सुरक्षा पन्त, नरेन खड्का र बिराज बिष्ट मुख्य भूमिकामा रहको सिनेमा ‘बुलाकी’का निर्माता टोपेन्द्र विष्ट हुन् । निर्देशन लक्ष्मण सुनारले गरेका छन् ।