‘बुलाकी’ दर्शकले रुचाउनेमा विश्वस्त नरेन

‘बुलाकी’ दर्शकले रुचाउनेमा विश्वस्त नरेन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गते अर्थात नयाँ बर्षको अवसरमा नरेन खड्का अभिनित सिनेमा ‘बुलाकी’ प्रदर्शनमा आउँदैछ । डेव्यु सिनेमा ‘हमेशा’ रिलिज भएको लामो समय पश्चात नरेन सशक्त भुमिकामा पर्दामा आउँदै छन् ।

‘हमेशा’पछि पनि उनले थुप्रै नेपाली र भोजपुरी सिनेमामा काम गरेका छन् । तर, उनले राम्रो कथावस्तु सेलेक्सनमा चुक्दा ओझेलमा परे । अब भने उनी ‘बुलाकी’ मार्फत् सशक्त कमव्याक हुनेमा आशावादी छन् । ठुला व्यानर र मेकरले नपत्याउँदा नरेन ओझलमा परेको उनी निकट सिनेमाकर्मीको बुझाई छ ।

त्यसका साथै खड्काले काम गरेका प्रोजेक्टहरूले दर्शकको साथ पाउन नसक्दा र कतिपय प्रोजेक्ट उनले गलत रोज्दा उनको कामको मुल्यांकन हुन नसकेको हो । ‘हमेशा’पछि उनी सिनेमा क्षेत्रमा उदाउने अपेक्षा धेरैको थियो । तर, करिअरमा गलत प्रोजेक्ट रोज्दा उनले अपेक्षित सफलता पाएनन् ।

नरेन सिनेमा ‘बुलाकी’बाट भने दर्शकले आफूलाई रुचाउनेमा विश्वस्त छन् । उनले भने-‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ । मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचक्राई गरे । तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

‘बुलाकी’मा उनले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भुमिका निवार्ह गरेका छन् । जो विवाहीत हो । विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण श्रीमतीसँग सम्बन्ध राम्रो छैन् । खेती किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेको छ ।

सिनेमाका सार्वजनिक प्रचार सामाग्री ट्रेलर हेर्दा सिनेमामा अभिनेत्री सुरक्षा पन्तसँगै नरेनले पनि उत्कृष्ट काम गरेको भान हुन्छ । नरेन आफै पनि सुदुरपश्चिममा जन्मे हुर्केका हुनाले कर्णाली प्रदेशको एक साधारण युवकको भुमिका काम गर्न सहज भएको बताउँछन् । ‘बुलाकी’ आफ्नो कमव्याक सिनेमा हुने उनको बुझाई छ ।

सिनेमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । नरेनका अलवा सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमाको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ । सिनेमालाई बितरण त्रिनेत्रम् र एफडी गर्दैछन् ।