‘आमा’देखि ‘शान्तिदीप’सम्म १० नेपाली सिनेमाको गरियो डिजिटाइजेसन

‘आमा’देखि ‘शान्तिदीप’सम्म १० नेपाली सिनेमाको गरियो डिजिटाइजेसन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय सिनेमाको छायांकन, पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । नेपालमा ‘डिजिटल यात्रा’को सुरुवात भूषण दाहाल निर्देशित सिनेमा ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित सिनेमा ‘सानो संसार’को निर्माण तथा प्रदर्शनबाट भएको थियो ।

सन् २००८ मा क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेका सिनेमाबाट डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको सिनेमाकर्मी बताउँछन् । प्रविधि डिजिटल मैत्री भएपछि चलचित्र विकास बोर्डले पुराना सिनेमालाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन तथा रेस्टोरेसनको सुरुवात गरेको हो ।

सन् २०२१ मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा डिजिटाइजेसन गरिएका दुई सिनेमा आमा र कुमारी प्रदर्शन गरिएको थियो । २०७५ भदौ २८ मा सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेसन र रेस्टोरेसनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेसन प्रालिको प्रसाद ल्याबमा सम्पन्न गरिएको थियो ।

नेपालमा सिनेमाका इतिहासलाई सर्वसाधारणसम्म पु¥याउन सिनेमा संग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ । अधिकृत गुरागाईका अनुसार दक्षिण एसियाका देशमध्ये छिमेकी मुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेसन तथा रेस्टोरेसन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याएपछि डिजिटाइजेसनको सुरुवात भएको उनले बताए ।

सेल्युलाइड प्रविधिमा रहेका महत्वपूर्ण सिनेमा आमा, के घर के डेरा, बदलिंदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका सिनेमा संग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईले बताए ।

डिजिटाइजेसनसँगै ती सिनेमा अंग्रेजी भाषामा सबटाइटल समेत गरिएको छ । ‘डिजिटाइजेसनको माध्यमबाट ती सिनेमाको रिल रेस्टोरेसन गरेर राखिएको हो । रेस्टोरेसनले सिनेमालाई आधुनिक प्रविधि वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घण्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेसन गरेका छौं,’ अधिकृत गुरागाईले भने ।

रेस्टोरेसन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएको लगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि संग्रहति गरिन्छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका सिनेमालाई डिजिटाइजेसन गरिएको छ । डिजिटाइजेसन भएपछि १६ एमएम र ३५ एमएमका ती सिनेमा टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् ।