छोरीले पैतृक सम्पतीमा हक पाउनु पर्छ भन्नलाई ‘जारी’ बनाए : उपेन्द्र सुब्बा

छोरीले पैतृक सम्पतीमा हक पाउनु पर्छ भन्नलाई ‘जारी’ बनाए : उपेन्द्र सुब्बा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबार अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘जारी’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । प्रदर्शनको सातौं दिन अर्थात् बिहीबार पनि हलमा सिनेमा हेर्ने दर्शकको चाप उच्च छ ।

बक्सअफिसमा बम्पर व्यापार गरिरहेकको सिनेमाको निमार्ण टिमले बुधबार काठमाडौंमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रमको आयोजना गरेको थियो । सिनेमाका निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, अभिनेता विजय बराल र छायांकार शैलेन्द्र डी कार्की उपस्थित कार्यक्रमको सहजीकरण पत्रकार बसन्त बस्नेतले गरेका थिए ।

सिनेमाको ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा सिनेमाको कथा लेखन, छायांकन, क्यारेक्टरको चरित्र निर्माणदेखि प्रदर्शन पश्चात दर्शक प्रतिक्रियासम्मको कुराकानी गरिएको थियो । अभिनेता दयाहाङ राईले सिनेमा प्रदर्शनपछि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । उनले लिम्बू संस्कृतिसँग सम्बन्धित सिनेमा भएकाले काम गर्न केही कठिनाइ भएपनि आफू लिम्बू संस्कृतिसँग धेरै नजिक हुँदा सहज भएको उल्लेख गरे ।

दयाहाङले सांस्कृतिक हिसावले पनि आफूलाई अभिनय गर्न सहज भएको बताउँछन् । उनले भने, ‘दर्शकले सिनेमालाई राम्रो प्रतिक्रिया दिनुभएको छ । आफु लिम्बु समुदायको नभएपनि मलाई काम गर्न हाम्रो कल्चर लगभग उस्तै भएका धेरै नै सहज भयो नामसाङ्गको चरित्र निवार्ह गर्न । अनि निर्देशक उपेन्द्र सुब्बाको स्क्रिप्टमा सबै कुरा छर्लङ्ग थियो, त्यो मेरो लागि चुनौति थियो । रिस, प्रेम, इगो सबै थियो । सांस्कृतिक हिसावले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।’

अभिनेत्री मिरुना मगरले अन्य सिनेमामा अभिनय मात्रै हुने भएपनि जारीमा भने पात्र अनुसार चरित्रमा भिजेर अभिनय गर्ने अवसर पाएको बताइन् । उनले आफूले सिनेमामा अभिनय गर्दा पात्रको विषयवस्तुलाई महशुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाइरहेको बताउँछिन । साथै आफुले ‘जारी’का बिषयमा धेरै कुमा आफ्नो आमाबाट सिकेको थिए । यो सिनेमामा काम गर्ने पक्का भएपछि आफ्नो आमा पनि लिम्बुको छोरी भएकाले पनि चरित्र निर्माण गर्न सहयोग मिलेको उल्लेख गरिन् ।

मिरुनाले भनिन्, ‘मैले काम गरेका अन्य सिनेमा चरित्रहरुमा जारी भन्दा भिन्न थियो । स्क्रिप्ट पढ्दा नै मैले भिन्न पाएकी थिए । मलाई स्क्रिप्ट पढ्ने बित्तिकै काम गरेको जस्तो सिनेमा हुन्छ होला भन्ने लागेको थियो । मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु । सिनेमामा मैले पात्रको अभिनयलाई महशुस गरेर धेरैकुरा सिक्न पाए ।’

अभिनेता विजय बरालले लिम्बू समुदायको कथावस्तुलाई सिनेमामा उतारिएको त्यही अनुसारको चरित्रमा अभिनय गर्दा केही कठिनाइ भएको बताए । लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्रको भुमिका निवार्ह गर्दा केही कठिनाइ भएको पनि निर्देशक सुब्बासँग सिक्दै जाँदा अभिनय गर्न सहज भएको अभिनेता बरालले भने ।

निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रुपमा जीवन जिउने महिलाहरु लिम्बू समुदायमै रहेपनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताउनु भयो । उहाँले महिलाहरुले पैतृक सम्पतीको उपभोग गर्न नपाउन्जेलसम्म अन्य स्वतन्त्रताको अर्थ रहँदैन भन्ने यथार्थलाई सिनेमामा देखाउन खोजेको बताए ।

निर्देशक सुब्बाले भने, ‘नेपाली समाजमा लिम्बू महिलाहरु बढी स्वतन्त्रता उपभोग गरिरहेका छन् भन्ने गरिन्छ । यहाँभित्र महिलाहरुको हक बढी हुन्छ भन्ने कथन छ । यो एक किसिमले स्वीकार्य हो, मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो । कहाँ हो छारी कहाँ गइस् भनेर मात्रै स्वतन्त्र हुने होइन, अरु पनि धेरै कुरा छन् भन्ने लाग्यो । जबसम्म छोरीमा पैतृक सम्पतीको हक लाग्दैन तबसम्म अरु स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोचको हुँ । बनाउँदा जादा के-के बनाएँ नै थाहा छैन । हरेक समाजका महिला सबल र सक्षम हुनु पर्छ भन्ने हाम्रो चाहाना हो ।’

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।