दोलखा फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो सार्वजनिक-निजी साझेदारीमा बनाइने

दोलखा फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो सार्वजनिक-निजी साझेदारीमा बनाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको बजेटमा सिनेमा क्षेत्र प्राथमिकतामा पर्न सकेन ।

दोलखामा फिल्म सिटी र बनेपामा स्टुडियो निर्माणको विषयलाई नै अघिल्ला बर्षको निरन्तरताको स्वरुप बजेटमा पनि समावेश गरिएको छ । बजेटमा भनिएको छ, ‘नेपाललाई सिनेमा पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गरिनेछ । सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।’

दोलखामा फिल्म सिटी निर्माण गर्ने विषय वर्षौंदेखि निरन्तर रुपमा बजेटमा पर्दै आएको छ भने २०७८/७९ देखि बनेपामा इन्डोर स्टुडियो निर्माणको विषय पनि छुटेको छैन । नेपाललाई सिनेमा पर्यटनको रुपमा विकास गर्ने विषय पनि बजेटमा नयाँ होइन । कार्यान्वयन मात्र हुन नसकेको हो ।

काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर स्टुडियो निर्माणको विषय बजेटमा मात्र सीमित रहँदै आएको छ । त्यस्तै, हरेक आर्थिक वर्षको बजेटमा दोलखा सिनेमा सिटीको निर्माण प्राथमिकतामा पर्ने गरेको भए पनि यो व्यावहारिक नभएको टिप्पणी सिनेमा क्षेत्रमा हुँदै आएको छ ।