दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’को अमेरिका र क्यानडा प्रदर्शन राइट्स बिक्रि

दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’को अमेरिका र क्यानडा प्रदर्शन राइट्स बिक्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नाङ्गो गाउँ’ निर्माण घोषणादेखि नै चर्चामा छ । अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह र कार्मको पनि अभिनय छ । दीपेन्द्र लामाको निर्देशन रहेकाले सिनेमाप्रति दर्शकको अपेक्षा पनि उच्च छ ।

सिनेमाको निर्माण टिमप्रतिको विश्वासका कारण छायांकनको चरणदेखि नै सिनेमाको ओभरसिज राइट्स विक्री हुन थालेको थियो । यसैक्रममा, नेपाल इलेभेनले सिनेमाको अमेरिका र क्यानडाको राइट्स लिएको छ । अमेरिका र क्यानडाको २२ बढी राज्यका ५० बढी शहरमा सिनेमा प्रदर्शन हुने नेपाल इलेभेनका प्याट्रिक सुवेदीले बताए । अमेरिकामा मात्रै ४ सय बढी शोजको टुंगो लागिसकेको उनले बताए ।

निर्देशक लामा स्वयंको लेखन रहेको सिनेमामा शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, पुष्कर गुरुङ, राज थापा, कमलमणि नेपाल, घनुभाई जोशी, निमा पाण्डेलगायतको पनि अभिनय छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको सिनेमामा जय श्रेष्ठ निर्मातामा छन् । आलोक शुक्लाको छायांकन रहेको सिनेमालाई बनिष शाहले सम्पादन गरिरहेका छन् ।

प्रदर्शनरत सिनेमा जारीको जोडी दयाहाङ र मिरुनाको कारण विदेशमा ‘नाङ्गो गाउँ’को माग उच्च देखिन्छ । यही अवस्था रहे सिनेमाले प्रदर्शन अगावै लगानी सुरक्षित गर्न सक्नेछ । राजनीतिले समाजमा पारेको प्रभावको कथामा निर्माण भएको सिनेमामा दयाहाङ नेताको भूमिका निवार्ह गरेका छन् ।