बर्दियाबाट नम्रता र सारुकको ‘ह्यासट्याग माया’ छायांकन सुरु

बर्दियाबाट नम्रता र सारुकको ‘ह्यासट्याग माया’ छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता सारुक ताम्राकारको मुख्य भुमिका रहेको सिनेमा ‘ह्यासट्याग माया’को छायांकन बर्दियाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

थ्रिलर विधामा निर्माण हुने सिनेमाको छायांकन बर्दियामा चौध दिनसम्म गरिनेछ । सिनेमाको छायांकन बर्दिया आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए । ‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोशिस हाम्रो रहनेछ । यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ । यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौँ’, अनुपले भने ।

यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका राजिव गुरुङले पहिलो दिनको काम राम्रो भएको जानकारी दिए । ‘हामीले तय गरेको सेड्युल अनुसार नै काम भइरहेको छ । थ्रिलरमा मनोरञ्जक सिनेमा तयार हुनेछ । हामी प्रस्तुतीसँगै अन्य विषयमा ध्यान दिईरहेका छौँ’, निर्देशक गुरुङले भने । सिनेमामा नम्रता र सारूकका अलवा रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहेको छ ।

सिनेमाको छायांकन बर्दियापछि काठमाडौं २० दिन र धरानमा ५ दिन समेत गरिनेछ । शर्मिला थापाको लगानी रहने सिनेमाको कथा मायामै केन्द्रीत छ । सिनेमामा शिर्ष भूमिका निर्वाह गरिरहेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् । नेपाली कलाकारमा चरित्र निर्माणका लागि यत्तिको मेहनत गर्नेको संख्या निकै कम छ ।

‘चरित्रलाई जीवन्त बनाउन समय दिएकी हुँ । पर्दामा देखिदा फिक्का नदेखियोस् भन्ने मेरो प्रयाश हरेक सिनेमामा रहन्छ । यो सिनेमालाई लिएर निकै उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’,अभिनेत्री नम्रताले भनिन् ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भईरहेको सिनेमामा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ । सिनेमामा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।