दयाहाङ र शान्तिको ‘नीरफूल’लाई प्रिमियरमा मिश्रित प्रतिक्रिया

दयाहाङ र शान्तिको ‘नीरफूल’लाई प्रिमियरमा मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नीरफूल’को बुधबार राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको सिनेमाको प्रिमियर शोमा अभिनेता दयाहाङ राई, अभिनेत्री शान्ति बाइवा र बुद्धि तामाङ सेलो नाच्दै तामाङ ड्रेसअपमा पुगेका थिए ।

सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा अधिकांशले सिनेमालाई मिश्रित प्रतिक्रिया दिएका थिए । सिनेमाले भुकम्पको बेलालाई नजिकबाट सिनेमाको पर्दामा हेर्ने अवसर दिएको छ । प्राकृति विपत्तीमा परेकालाई सरकार र त्यस आसपासका मान्छेहरुले गर्ने व्यवहारलाई नजिकबाट चिन्ने अवसर सिनेमाले दिएको छ ।

‘सिनेमामा परिवार हराएको कथा छ । परिवारको प्रेम, पीडा र संवेदना छ । सिनेमा ‘आइडेन्टिट क्राइसिस भर्सेस करप्टेड सिस्टम’मा बनेको छ,’ निर्देशक फूलमान बलले बताए । अहिलेको समयमा निर्देशकले ‘आर्टको फम’बाट भन्नुपर्ने कुराहरु धेरै रहेको र तीमध्ये ‘नीरफूल’ले अलिकति भन्ने कोसिस गरेकोले दर्शकलाई मन पर्न सक्ने दाबी प्रिमियर शोमा मिलेको प्रतिक्रियाले देखाउने बुझाई उनको छ ।

अभिनेता दयाहाङ राईले पनि तामाङ संस्कृती माथि बनेको एउटा राम्रो सिनेमाको रुपमा ‘नीरफूल’ रहेको बताउँछन् । सिनेमाले भुकम्पको कथा मात्रै नभएर एउटा साधारण मान्छेले आफ्नो हराएको श्रीमती, छोरी र हराएको गाउँ खोज्न राज्यसँग गर्ने विद्रोहको कथा निर्देशक बलले इमान्दारिताका भन्ने प्रयास गरेकोले दर्शकले रुचाउन सक्ने बताए ।

सिनेमामा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत सिनेमाको पटकथा लेखक समेत रहेका निर्देशक वलले ‘नीरफूल’ भूकम्पले भत्काएको सम्बन्धहरूलाई जोड्न गरिएको प्रयत्नको रूपमा निर्माण गरेको बताउँछन् । धादिङको रूवी भ्याली, रसुवाको स्याफ्रुँबेसीसँगै काठमाडौंमा खिचिएको सिनेमामा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको सिनेमा प्रमोद कार्कीले खिचेका हुन्, भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । नेपाल-म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमामा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको सिनेमामा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।