‘झिँगेदाउ’देखि ‘प्रकाश’सम्म ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’मा देखाइने

‘झिँगेदाउ’देखि ‘प्रकाश’सम्म ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’मा देखाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट काभ्रेको भकुण्डेबेसीमा दोस्रो ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’मा प्रदर्शन हुने सिनेमाको लाइनअप सार्वजनिक गरिएको छ । महोत्सवका लागि १६ वटा सिनेमा छनोट भएको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ग्रामीण परिवेशमा निर्माण भएका सिनेमाहरुलाई मात्र महोत्सवका लागि छनोट गरिएको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । महोत्सवमा ‘झिँगेदाउ’, ‘प्रकाश’, ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साईत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ र ‘लुङा’ लगायतका सिनेमाहरु प्रदर्शन गरिनेछ ।

बिहीबार आयोजना गरिएको ‘प्रि-इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका सबै सिनेमाका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षासिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी छन् ।

महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालले ‘मास्टर क्लास’ दिनेछन् । त्यस्तै, अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा सिनेमा’ विषयमा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नेछन् । महोत्सवमा तीनजना कलाकारलाई सम्मान समेत गरिने आयोजक सापकोटाले बताए ।

हल नभएका ग्रामीण क्षेत्रका दर्शकलाई लक्षित गर्दै यो महोत्सवको सुरुवात गरिएको हो । उत्कृष्ट सिनेमालाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिबार बेलुका महोत्सव समापन गरिनेछ । विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो ।