मुकुन र दीयाले जिते ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

मुकुन र दीयाले जिते ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को दोस्रो संस्करणमा ‘झिँगेदाउ’बाट मुकुन्द भुषाल उत्कृष्ट अभिनेता र ‘प्रकाश’बाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । जेठ २६ र २७ गते काभ्रेको भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयमा आयोजना गरिएको महोत्सवको शनिबार समापन समापन तथा अवार्ड हस्तान्तरण गरियो ।

ग्रामीण सिनेमा महोत्सवमा ‘झिँगेदाउ’ उत्कृष्ट सिनेमा घोषित भएको छ । त्यस्तै, ‘प्रकाश’ले जुरी अवार्ड र उत्कृष्ट पटकथा लेखन विकास सुवेदीले पनि अवार्ड पाएका थिए । उत्कृष्ट फिचर सिनेमा निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे भने यही सिनेमाले उत्कृष्ट छायाँकारको अवार्ड पनि जित्यो । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा १६ वटा फिचर र लघु सिनेमा छनोट भएका थिए ।

महोत्सवमा ‘आफ्नै कर्म’ गुरुङ सिनेमाले उत्कृष्ट भाषिक सिनेमाको अवार्ड, ‘हल्कारा’ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड, ‘कथा एकादेशको’ले उत्कृष्ट छोटो सिनेमा निर्देशक म्युजिकल्ली अवार्ड, ‘परिवर्तन’ले उत्कृष्ट छोटो सिनेमा निर्देशक, अभिनेता र जुरी अवार्ड, ‘चरित्र’ले उत्कृष्ट छोटो सिनेमा र अभिनेत्रीको अवार्ड जित्न सफल भएको छ । महोत्सवमा दुई दर्जनभन्दा बढी सिनेमाकर्मीहरुको उपस्थिति रहेको थियो ।

महोत्सवको जुरी टिममा सम्पादक भरत रेग्मी, निर्देशक रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए । महोत्सवमा काभ्रेमा जन्मिएर सिनेमा क्षेत्रमा सक्रिय तीनजना सिनेमाकर्मीहरु निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरियो भने अशेष अधिकारीलाई नगदसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

ग्रामीण परिवेशमा बनेका मौलिक सिनेमालाई महोत्सवमा सहभागी गराइएको थियो । शनिबार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास‘ समेत आयोजना गरिएको थियो । त्यस्तै, अभिनेता मुकुन भुसालले केही समय विद्यार्थीहरुसँग सिनेमाको बारेमा आफ्नो अनुभव सुनाएका थिए ।