फूलमान वल निर्देशित ‘निरफूल’ हेर्न हल पुगे भिम रावलदेखि करिष्मासम्म

फूलमान वल निर्देशित ‘निरफूल’ हेर्न हल पुगे भिम रावलदेखि करिष्मासम्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फूलमान वलद्वारा निर्देशित सिनेमा ‘नीरफूल’ हेर्दा नेकपा एमालेका नेता भिम रावलले नक्कली शरणार्थी प्रकरणको घटनाक्रम सम्झाएको बताएका छन् । सोमबार काठमाडौंको वान सिनेमाजमा आयोजित विशेष शोमा उनले सिनेमाको कथा भूकम्पले सिर्जित परिस्थितिमा आधारित भएपनि अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि ताजा गराएको बताए ।

सोमबार पूर्व उपप्रधानमन्त्री डाक्टर भिम रावलका अलवा पूर्व मन्त्रीहरु बुद्धिमान तामाङ, परशुराम तामाङ, राप्रपाका सांसद रोशन कार्की, युवा संघका अध्यक्ष छितिज थेवे, पुर्व राजदुत डा. गणेश योञ्जन, अभिनेत्रीहरु करिश्मा मानन्धर, पल्पसा डँगोल, अभिनेता गजित बिष्ट, निर्देशक एवम् अभिनेता दिनेश डिसी, गायिका सुनिता दुलाल, पत्रकारहरु ऋषी धमला, उमेश चौहानलगायतले ‘नीरफूल’ हेरेका थिए ।

गत शुक्रबारबाट प्रदर्शनमा आएका सिनेमा हेरेपछि रावलले भने, ‘सिनेमाले एकैचोटीमा धेरै सन्देश दिएको छ । वैदेशिक रोजगारीको नाममा हाम्रो समाज र परिवार कसरी तहसनहस हुँदैछ भन्ने सन्देश सिनेमाले दिन्छ । भूकम्पको समयमा जनतालाई सेवा गर्नुपर्ने निकायले कसरी गलत तरिकाले फाइदा उठाउन खोजेका थिए भन्ने कुरालाई सिनेमाले अगाडि ल्याएको छ । सिनेमा हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरण सम्झना भयो ।’

यता अभिनेत्री करिश्मा मानन्धर ‘नीरफूल’लाई अर्गानिक सिनेमाको संज्ञा दिन्छिन् । ‘सिनेमाको कथा अर्गानिक छ । भूकम्पको पीडा झन्डै हामीले विर्सिसकेका थियौं । यो सिनेमाले ती दिन स्मरण गरायो । भूकम्पपछि दुर्गम क्षेत्रमा कस्तो परिस्थिति थियो भन्ने कुरा सिनेमाले देखाएको छ । हाम्रो देशको भौगोलिक परिस्थिति र संस्कृतिलाई प्रस्तुत गरिएको छ । समग्रमा सिनेमा राम्रो लाग्यो,’ उनले भनिन् ।

पत्रकार तथा निर्माता ऋषि धमलाले सिनेमा हेर्दा आफू भावविह्वल भएको बताए । भूकम्पको बेला नेपालीले भोगेको पीडा सिनेमामा निर्देशकले एकदमै राम्रो तरिकाले उतारेको उल्लेख गर्दै उनले कलाकारहरुको अभिनयको पनि मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, ‘सिनेमामा वास्तविकता छ । यसमा कुनै किसिमको बनावट छैन । सिनेमा हेर्दा म भावविह्वल भएको थिएँ । सिनेमा राम्रो छ ।’

गायिका सुनिता दुलालले सिनेमा पूर्ण प्याकेजको रहेको भन्दै कलाकारहरुको अभिनय एकदमै राम्रो लागेको बताइन् । कलाकार पल्पसा डंगोलले सिनेमा राम्रो रहेको र कथाले मन छोएको प्रतिक्रिया दिइन् । अभिनेता गजित विष्टले सिनेमामा निकै सूक्ष्म तरिकाले काम गरिएको बताए । निर्देशक दिनेश डिसीले सिनेमामा भूकम्पको समयको यथार्थ चित्रण गरेकोमा निर्देशक वलको प्रशंसा गरे ।

भूकम्पका कारण एउटा परिवार छिन्नभिन्न भएको कथा सिनेमाले प्रस्तुत गरेको छ । त्यसबेला राज्यका अंगहरु कसरी गैरजिम्मेवार भएका थिए भन्ने कुरा पनि सिनेमाले देखाएको छ । सिनेमामा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जिम्मे छ्योइकी घिसिङको अभिनय रहेको छ । सिनेमामा निर्देशक वल स्वयंको लेखन छ ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको सिनेमा प्रमोद कार्कीले खिचेका हुन्, भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । नेपाल-म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमामा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको सिनेमामा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।